कांग्रेसमा नयाँ समिकरण ! देउवा र पौडेललाई धक्का

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १६ : १७
कांग्रेसमा नयाँ समिकरण ! देउवा र पौडेललाई धक्का

काठमाडौँ  । नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई लिएर भेला, छलफल र भेटघाटका कार्यक्रम भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका नेतासँग प्रदेशस्तरीय छलफल गरिरहेका छन् ।

देउवा आफू १४ औँ महाधिवेसनको लागि सभापति पदका दावेदार पनि हुन् । रामचन्द्र पौडेल पनि सभापतिको दावेदार बनेका छन् । उनले पनि यतिबेला आफू निकटका नेतासँग छलफल गरिरहेका छन् । 

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका तीन जना आकांक्षी शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह छलफलमा जुटेका छन्। उनीहरुले कांग्रेसमा नयाँ समिकरण जन्माउने कसरत भइरहेको बताएका छन् । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार १४ औँ महाधिवेशसनमा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न तीन नेताहरु सक्रिय बनेका र उनीहरुको नयाँ समिकरण बन्ने सम्भावना रहेको छ । उनी भन्छन् ‘भलाकुसारी भयो, सकारात्मक छलफल भएको छ, तीन नेताको समीकरण बन्ने सम्भावना रहेको छ ।’

देउवाले फेरि पनि सभापतिमा लड्ने भन्दै तयारी तीव्र पारेका बेला तीन नेताको नयाँ समिकरण बनेको खण्डमा नेता देउवालाइ धक्का लाग्न सक्छ । देउवाले कांग्रेसलाई फेरि एक नम्बर पार्टी बनाएर मात्रै विश्राम लिने चाहना व्यक्त गर्दै सभापतिमा उठ्ने दावी गरिरहँदा यता तीन राजकुमारहरुको भेलाले कस्तो समीकरण बनाउँला चासोका साथ हरिरहेका छन् ।

समिकरण बनेको खण्डमा देउवा र पौडेल दुबैलाई धक्का लाग्ने कांग्रेसका एक नेता बताउँछन् । तर आफ्नै समूहमा रहेका निधिले पनि सभापतिमा लड्ने तयारी गरेपछि देउवालाई अप्ठ्यारो छ। सभापतिमा देउवाको विकल्प खोज्दै आफ्नो पुस्तामा नेतृत्व ल्याउने समझदारी उक्त बैठकमा भएको भनिएको छ।

उनीहरुबीच आगामी नेतृत्वका लागि परम्परागत समीकरण भत्काएर नयाँ समीकरण बनाएर अघि बढ्ने सम्मको छलफल चलिरहेको छ। कोइराला, सिंह र निधि कांग्रेसमा बिरासतको राजनीति गर्दै आएका नेता हुन्।