राउटे समुदायले बुझे एकैपटक ३७ लाख रुपैंया सामाजिक सुरक्षा भत्ता

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १२ : १९
राउटे समुदायले बुझे एकैपटक ३७ लाख रुपैंया सामाजिक सुरक्षा भत्ता

दैलेख । सिमान्कृत समुदायमा सुचिकृत जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले एकै पटक ३७ लाख ४४ हजार रुपैयाँ भत्ता बुझेका छन् ।राउटे समुदायका प्रत्येक व्यत्तिलाई संघीय सरकारबाट मासिक रुपमा तीन हजार रुपैयाँ र कर्णाली प्रदेश सरकारले थप दुई हजार रुपैयाँ भत्ताको व्यवस्था गरेपछि उनीहरुले सो रकम बुझेका हुन् । 

संघिय सरकारले मासिक भत्ताको व्यवस्था गरेपछि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अघिल्लो वर्षको दशैंमा राउटे समुदायको बस्तीमै पुगेर दुई हजार रुपैयाँ भत्ता दिने घोषणा गरेका थिए ।  घोषणा भएको सात महिनापछि उनीहरुले एकमुष्ट भत्ता पाएका हुन् । संघीय सरकारबाट प्राप्त हुने भत्ता पनि चार महिनादेखि राउटे समुदायले पाएको थिएन्।  

प्रदेश सरकारको सात महिनाको दुई हजारका दरले १४ हजार र संघीय सरकारको चार महिनाको तीन हजारका दरले १२ हजार रुपैयाँ गरि एक जना राउटेले २६ हजार रुपैंया प्राप्त गरेका हुन् ।   दैलेखको गुराँस गाउँपालिका–८ का अध्यक्ष हुकुमबहादुर खत्रीले एक सय ४४ जना राउटेका लागि सामाजिक सुरक्षा भत्तावापत ३७ लाख ४४ हजार रुपैयाँ खर्च भएको बताए । 

बस्तीमै पुगेर दैलेखको गुराँस गाउँपालिकाले बुधबार भत्ता वितरण गरेको हो। एकमुष्ट प्रतिव्यक्ति २६ हजार भत्ता पाउँदा राउटे समुदाय खुसी छ। मुखिया सूर्यनारायण शाहीले समयमै भत्ता नपाउँदा आफ्नो बस्तीमा रहेकाहरुलाई खानको समस्या भएको बताए । काठका सामाग्रीहरु बनाएर गुजारा चलाउने यो समुदाय पछिल्लो समय सरकारले दिने सामाजिक सुरक्षा भत्तामा निर्भर हुने गरेको छ। 

प्रतिक्रिया दिनुहोस