मकै छाडेर सूर्यमुखी खेतीमा आकर्षित पाल्पाका किसान

रासस

विहीबार, ०३ असार २०७८, १४ : १७
मकै छाडेर सूर्यमुखी खेतीमा आकर्षित पाल्पाका किसान

रामपुर । कुनै समय घरआँगनका डिल, वरपर, करेसाबारी, बगैँचामा, सोख र सुन्दरताका लागि मात्रै लगाइने सूर्यमुखी फूल अहिले भने किसानको खेती भएको छ । यसलाई कृषकले व्यावसायीकरण गर्ने गरेका छन् । त्यसैले अहिले घरआँगनमा गमलामा देखिने सूर्यमुखी फूल अब आम्दानीको माध्यम बनेको छ । पाल्पाका कृषकले सूर्यमुखीको खेती नै थालेका छन् ।

मकै बालीको तुलनामा कम लगानी, मेहनत तर आम्दानीका हिसाबले दोब्बर बढी हुने भएपछि व्यावसायिकतामा पाल्पाली कृषकको मोह बढेको पाइएको छ । बजारमा तेलको मूल्यवृद्धि हँुदै गएको अवस्थामा यहाँका कृषकले आयआर्जनका निम्ति सूर्यमुखीलाई प्राथमिकता दिन थालेको पाइन्छ । रामपुर नगपालिका–५ बस्ने युवा बलबहादुर रानाको राम्रै मकै बाली उत्पादन हुने खेत यतिखेर सूर्यमुखी फूलले ढकमक्क छ । घर अगाडिको खेतभरि पहेँलै सूर्यमुखी फूल्दा कृषि कार्य गर्दाको सबै थकान मेटिएको उनलाई अनुभूति हुन पनि थालेको छ ।

उनी भन्छन, “घर वरपर फूलेको सूर्यमुखी देख्दा काममा काम गर्ने जाँगर बढेर आउँछ, अहिले खेतभरी जताततै सूर्यमुखी फूलेको छ, हराभरा देख्दा मनका अनेकथरि पीडा सबै हराएर जान्छन्, मनमा आनन्दको अनुभूति हुन्छ ।” 

अहिले उनको यो सूर्यमुखी खेतीमा हेर्न आउने, फूलको बास्नामाा रमाउने, फूलसँगै रमाउँदै तस्बिर खिच्ने र सामाजिक सञ्जालहरुमा फोटो पोष्ट गर्ने, टिकटक बनाउने, भिडियो बनाउनेको निकै चहलपहल देखिन्छ । यहाँ फुल्दै गरेको सूर्यमुखीसँग बालबालिकादेखि युवायुवती, वृद्धवृद्धाहरू सबै उमेर समूहका व्यक्ति फूलसँग रमाउँदै फोटो खिचाउने र सामाजिक सञ्जालमा छरपस्ट राख्नेको होडबाजी नै छ । रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाड बजार जाने सडक छेउछाउमा फूलेको सूर्यमुखीको लोभलाग्दो दृश्य देखेपछि सवारी साधनमा यात्रा गर्ने यात्रु पनि एकछिन गाडी रोकेर फोटो खिचाएर मात्रै जाने गर्दछन् ।

अहिले यहाँ दैनिक ३०० भन्दा बढीको हाराहारीमा फूलमा आएर फोटो खिचाउने, टिकटक बनाउने, भिडियो बनाउने गरेको कृषक प्रभु श्रेष्ठ बताउछन । उनी भन्छन, “खेतमा फुलेको फूलसँग ठूलो सङ्ख्यामा अवलोकन गर्ने, रमाउने भेटिन्छन्, विशेषगरी साँझपख भने सूर्यमुखीमा भीड लाग्ने गरेको छ, देख्दै आनन्द लाग्दछ, फुल्न पनि असाध्यै राम्रो फुलको छ ।” 

उनले मकै बालीको उत्पादन लिँदै आएका पाँच रोपनी खेतमा यस वर्ष मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाएका छन। कृषि ज्ञान केन्द्रको रु छ लाख आर्थिक सहयोगमा रामपुर नगरपालिकाको समन्वयमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ५ को बेझाड खेतमा करिब २०० रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाइएको छ । यी जग्गा पहिला भने यतिखेर मकैले भरिएका हुन्थे । 

आम्दानी लिन र तेलजन्य पदार्थको उपभोगका लागि कृषकले सूर्यमुखीलाई व्यावसायीकरण गरेका हुन् ।अनुदानमा बीउ तथा सिँचाइका लागि कुलो मर्मत तथा पुनःनिर्माणमा सहयोग पाएपछि उत्साहका साथ कृषक सूर्यमुखी खेतीमा लागेका छन् । प्रतिरोपनी चार मुरी मकै उत्पादन हुने खेतमा अहिले पहेँलै सूर्यमुखी फुल्दा मनका पिरहरु खुशीमा परिणत भएका कृष्णकान्त पौडेल बताउछन । “राम्रै मकै उत्पादन हुने खेतमा सूर्यमुखीबाट अझ धेरै आम्दानी लिनका लागि मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाउन शुरु गरेको छु, परीक्षणमै राम्रै फल लाग्यो अर्को वर्ष खेती विस्तार गर्नेछु”, उनले भने ।

तेलजज्य पदार्थको खपत कम गराउन र मकै बालीको तुलनामा यसबाटै धेरै आम्दानी लिन सकिने, मेहनत र लगानी पनि कम पर्ने भएकाले सूर्यमुखी खेतीलाई व्यावसायिकरूपमा रोजेको कृषक दुर्गादेवी शर्मा बताउछन । “मकै बालीको तुलनामा सूर्यमुखीबाट धेरै आम्दानी लिन पाइने, लगानी र मेहनत कम पर्ने, आफूले उत्पादन गरेको स्वच्छ तेल उपभोग गर्न पाइने भएपछि व्यावसायिक तवरले नै खेती गर्न थालेका छौँ”, उनले भने । सामान्य तरिकाले लगाउँदा पनि राम्रै फल दिएकाले यस खेतीप्रति कृषक सन्तुष्ट रहेको र अर्को वर्षको लागि व्यवस्थित ढङ्गले समयमा नै खेती गर्ने सोच राखेको वडा सदस्य विष्णुप्रसाद बस्यालले बताए ।

रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले परीक्षणका रूपमा लगाइएको सूर्यमुखी सोचेभन्दा राम्रो भएको बताउँदै कृषकले यसलाई निरन्तरता दिन सकेमा बाहिरबाट आउने तेलहन बाली कम गर्न सकिने बताउछन। रामपुरमा तेलजन्य पदार्थको उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रमअन्तर्गत सूर्यमुखी खेती शुरु गरेको वडाध्यक्ष हिमाल मल्लले बताएका छन ।

एक पाथी सूर्यमुखी प्रशोधन गर्दा डेढ लिटर तेल उत्पादन हुने उनी बताउँछन । सूर्यमुखी खेती लगाउन थालेपछि बाँदर आतङ्क कम भएको  छ । उनले बाँदर आतङ्कले मकै बाली स्याहार्नै पाउदैनथे । सूर्यमुखी लगाउन थालेपछि भने उनी बाँदरको समस्याबाट मुक्त हुनुभएको छ भने आयस्रोतका हिसाबले यसबाट मकैको दाँजोमा धेरै फाइदा लिएका छन ।
 

प्रतिक्रिया दिनुहोस