टीकापुर बजार क्षेत्र डुबानको जोखिममा : व्यापारी चिन्तित

रासस

बुधबार, ०२ असार २०७८, १३ : ४१
टीकापुर बजार क्षेत्र डुबानको जोखिममा : व्यापारी चिन्तित

भजनी ।  कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण कैलालीको टीकापुर बजार क्षेत्रमा विकास निर्माणको काम ठप्प बनेको छ । विकास निर्माणको काम ठप्प हुँदा बजार क्षेत्रमा डुवानको जोखिम बढेको छ ।

बजार क्षेत्रमा अहिले तीन ठूला आयोजनाको काम चलिरहेको छ । तीमध्ये कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण ब्लक नं.‘ए’ अन्तर्गत सडक निर्माण र ढल निकासको काम पूर्ण रुपमा बन्द भएको छ भने जमरा पुलदेखि टीकापुर बसपार्कसम्मको काम थोरै कामदार लगाएर भइरहेको छ । वर्षातको समयमा सडक निर्माण र ढल निकासको काम अलपत्र हुँदा बजारक्षेत्रमा डुवानको जोखिम बढेको भन्दै स्थानीय व्यापारी त्रसित बनेका छन् । 

सडकको उचाइ बढ्दा एकातिर पुराना घर तथा भवन सडकभन्दा तल झरेका छन् भने अर्कोतिर भएका नाली पनि अलपत्र छन् । पानीको निकास कतै छैन । व्यवसायी हेमन्त रावलका अनुसार उचित ढल निकासको व्यवस्थापन नहुँदा वर्सेनि डुवानमा पर्ने टीकापुर बजार क्षेत्र यसवर्ष झनै जोखिममा रहेका छन् ।  “वर्षातको पानीको निकास कतै छैन । अलिअलि निकास भएका क्षेत्रहरू पनि अहिले भइरहेको विकासका कामले अवरुद्ध बनाइसकेको छ”, उनले भने,  “हामी एकदमै त्रासमा छौं । एकदुई दिनको झरीमा त डुवान हुन थालिसक्यो । वर्षातको बाँकी समय कसरी बिताउने होला भन्ने चिन्तामा छौं ।”

लामो समयदेखि कपडाको व्यापार गर्दै आएका वासुदेव पौडेलले सबैतिरबाट नाला बन्द हुँदा पसलको अगाडिबाट आवतजावत गर्ने समस्या हुन थालेको बताउँदै निर्माण कम्पनीको कमजोरीका कारण व्यापारीले सास्ती खेप्नुपर्ने भएको छ भने । “बजार क्षेत्रको समस्या अहिलेको मात्रै होइन । पहिला पनि कैयौंपटक यहाँका व्यापारीले लाखौंको क्षति व्यहोरिसकेको छ”, उनले भने , ‘निर्माण कम्पनी र नगरपालिकाले पानीको निकासका लागि समयमै सोच्नुपर्ने देखिन्छ । यस्तै अवस्था रहे यहाँका व्यापारीलाई निकै समस्या हुनसक्छ ।”

मुख्य बजार क्षेत्रमा निर्माणको काम गर्दै आउनुभएका महालक्ष्मी एमके जेभीका निर्देशक चक्रबहादुर शाहले आयोजनाको डिजाइन नै परिवर्तन भएका कारण काम रोकिएको बताउँदै तत्काल काम आगाडि बढ्न सक्ने कुनै सम्भावना नभएको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस