गण्डकीमा कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न विपक्षी गठबन्धनको माग

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, १६ : ३०
गण्डकीमा कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न विपक्षी गठबन्धनको माग

काठमाडौँ । गण्डकीमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षी गठबन्धन आजै बहुमत दावी गर्न जाने भएको छ ।

विपक्षी गठबन्धनका एक नेताले जानकारी दिएअनुसार नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ५ बजे गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उपस्थित हुन लागेको हो ।

युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका दीपक मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि आफ्नो पक्षमा ३१ सांसद्‍को स्पष्ट बहुमत भएको पनि उनले बताए । हामी सशरीर सबै सांसद उपस्थित हुनेछौं,उनले भने । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्नलाई ३१ सांसद्को समर्थन आवश्यक पर्छ । नेपालीको पक्षमा बहुमत पुगेको खण्डमा उनी आजै मुख्यमन्त्री नियुक्त हुनेछन् । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठन दावीका लागि भोलि २९ गतेसम्मको समय दिएकी छन् ।


 

प्रतिक्रिया दिनुहोस