प्रदेश १ - कांग्रेसले माग्यो ढुंगा गिट्टीको विषयमा सरकारको धारणा

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, १४ : १४
प्रदेश १ - कांग्रेसले माग्यो ढुंगा गिट्टीको विषयमा सरकारको धारणा

विराटनगर । प्रदेश-१ को प्रदेशसभामा नेपाली कांग्रेसले ढुंगा गिटी विदेश निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेको छ ।शुक्रबार प्रदेशसभा सदस्य मोहनकुमार खड्काले संघीय सरकारले बजेटमा राखेको ढुंगा गिटीको निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेका हुन् ।

‘कि, म माटो बेचेर सत्ता टिकाउन संघीय सरकारलाई सघाउँछु भनेर घोषणा गर्नुपर्‍यो, कि माटो बचाऊ अभियान चलाउनु पर्‍यो, उनले भने,‘यदि सरकारले नगर्ने भए विपक्षी र नागरिक समाजले ढुंगा माटो जोगाउने अभियान सञ्चालन गर्नुपर्छ ।’

विगतमा राणा र पञ्चायतले आफ्नो सत्ता टिकाउन तराईको जंगल फडानी गरेको भन्दै सांसद खड्काले अहिलेको सरकारले पनि सत्ता टिकाउन ढुंगा गिटीको योजना ल्याएको आरोप लगाए ।

‘राणाहरुले आफ्नो सत्ता टिकाउन चार कोसे झाडी बेचे, पञ्चायतले तराईको वन फाँडेर लकडी बेचेर सत्ता टिकाउने कसरत गरे,’ उनले भने,‘तर न राणा शासन टिक्यो न पञ्चायत, अहिले नेपालको माटो बेच्ने नीति ल्याएछन्, यस्तो सरकार र सत्ता टिक्दैन ।’पञ्चायत र राणाशासकका कारण चारकोसे झाडी केही भाग मात्र बाँकी रहेको भन्दै उनले ढुंङ्गा गिटी निकासी गर्दा पानीको मुहान सुक्ने र माटो सकिने बताए ।

प्रतिक्रिया दिनुहोस