नेपाली काङ्ग्रेसका नेता प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठको निधन

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, १६ : १४
नेपाली काङ्ग्रेसका नेता प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठको निधन

चितवन । नेपाली काङ्ग्रेस चितवनका सल्लाहाकार एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको आज निधन भएको छ । उनको आज काठमाडौं स्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विसं १९९४ साल पौष २९ गते बुबा सुब्बा मित्रलाल श्रेष्ठ र माता चुँदरी देवीका साइला पुत्रको रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मेका  उनले पाल्पाको पव्लिक पदम हाइस्कुलमा अध्ययन गरेका थिए । विसं २०१२ सालमा चितवन आएका उनले २०१४ सालाको भद्र अवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गरेका थिए। विसं २०१५ सालबाट चितवनमा स्थायी बसोबास गरेका उनी सोही वर्ष भएको आम निर्वाचनमा ५६ नम्बर निर्वाचन क्षेत्रमा काङ्ग्रेसका उम्मेदवारलाई बिजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विसं २०१७ सालाको राजनीतिक कुसँगै तनहुँको बन्दिपुर सशस्त्र आन्दोलनको नेतृत्व, २०१८ सालमा भरतपुर कव्जा गर्ने शसस्त्र क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका स्वर्गीय श्रेष्ठ माडी, ठोरी क्षेत्रमा समेत शसस्त्र बिद्रोहमा नेतृत्व प्रदान गरेका काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार विसं २०१८ सालपछि ८ वर्ष निर्वासन, पटक–पटक राजवन्दीका रुपमा जेल जीवन, २१ पटक हिरासतमा परेका उनी २०४६ सालको जनआन्दोलनमा तत्कालीन सरकारले राज्य द्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउ गरेको थियो । प्रजातान्त्रिक आन्दोलनका अथक संघर्षशील योद्धा देशमा प्रजातन्त्र स्थापनार्थ आफुलाई समाहित गरेका महेश्वरलाल अविवाहित थिए  ।

उनको निधनले नेपाली काङ्ग्रेसले असल एवं निष्ठावान नेता गुमाएको जिल्ला सभापति श्रेष्ठले जारी गरेको शोक बिज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेस चितवनले स्व श्रेष्ठको सम्मानमा पार्टी कार्यालय कमलनगरमा पाँच दिन पार्टीको झण्डा आधा झुकाउने र कार्यालयमा १३ औं  दिनसम्म शोक पुस्तिका राखिने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस