पशुपालनलाई प्रेरित गर्दै राप्ती नगरपालिका

रासस

मंगलबार, १८ जेठ २०७८, १२ : ५८
पशुपालनलाई प्रेरित गर्दै राप्ती नगरपालिका

चितवन । जिल्लाको विकट पहाडी र समथर भूभाग मिलेर बनेको राप्ती नगरपालिकाले त्यहाँका कृषकलाई पशुपालनमा प्रेरित गराउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । ५० देखि शतप्रतिशतसम्म अनुदानका कार्यक्रम कृषकले प्रत्यक्षरुपमा प्राप्त गरेका हुन् । 

नगरपालिकाका पशु चिकित्सा शाखा प्रमुख शैलेन्द्र भण्डारीका अनुसार नगरपालिकाले चालु वर्षमा १२१ वटा काउम्याट वितरण गरेको छ । एउटा काउम्याटलाई रु छ हजार ८०० पर्दछ । यसको ५० प्रतिशत नगरपालिकाले व्यहोरेर कृषकसँगको साझेदारीमा वितरण गरिएको हो । नगरपालिकाले पाँच वटा बोयर बोका वितरण गरेको छ । एउटा बोकाका लागि रु ५० हजार नगरपालिकाले व्यहोरेको थियो भने अपुग रकम कृषकले थपेर बोका खरिद गरेका हुन् ।

माछा मासु बिक्री गर्दै आएका व्यवसायीको व्यवसाय सुधारका लागि पाँच वटालाई रु ३० हजारका दरले अनुदान दिएको छ । कृषकलाई घाँस टुक्याउने १६ वटा च्याप कटरका लागि रु २० हजारका दरले अनुदान दिएको छ । भण्डारीका अनुसार ती उपकरण खरिद गर्न प्रतिगोटा रु ४० हजार पर्दछ । घाँस काट्न प्रयोग हुने पाँच वटा ग्रासकटरमा ८० प्रतिशत अनुदान दिएको छ । रु ४० हजारका दरले अनुदान दिईएको हो ।

नगरपालिकाले १२ हजार ८६६ गाई, भैंसी र बाख्रलाई निःशुल्क कृत्रिम गर्भाधान गराएको छ । सिमेन वीर्य खरिद गरेर चालु आर्थिक वर्षमा ती पशुचौपायालाई कृत्रिम गर्भाधान गराइएको हो । नगरपालिकाले गोठ निर्माणका लागि छ वटालाई रु २० हजारका दरले सहयोग गरेको छ । विदेशबाट आएका पशुपालन गर्न चाहनेका लागि नगरपालिकाले पशुपालनमा प्रोत्साहन गरेको छ । राप्ती नगरपालिकामा रहेका छ वटा दुग्ध उत्पादक सहकारी संस्थालाई क्रिम सेपेरेटर उपकरण उपलब्ध गराएको छ । जसका लागि एउटाको रु ९० हजार नगरपालिकाले अनुदान दिएको हो ।
 
राप्तीकै परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध प्रशोधन उद्योगको रुपमा स्तरीकरण गर्न रु २० लाख अनुदान सहयोग गरिंदै छ । संघीय सरकारको सहयोगमा साझेदारी परियोजना अन्तर्गत यो कार्यक्रम गर्न लागिएको हो । नगरपालिकाले ठूला गाई फर्मलाई दूध दुहुने मेसिनन वितरण गर्दैछ । यसै आर्थिक वर्षमा रु एक लाख ५० हजारमा खरिद गरेर केही दिनभित्रै वितरण गर्ने तयारी गरेको भण्डारीले जानकारी दिए।
 
नगरपालिकाले यस वर्ष तीन पटक बृहत पशु स्वास्थ्य शिविर गरेर दुई हजार १०० पशु चौपायको स्वास्थ्य परीक्षण गरी आवश्यक प्राविधिक सल्लाह उपलब्ध गराएको छ । जसमा कृषि तथा वन विज्ञान विश्वविद्यालय र नेपाल पोलिटेक्निक इन्स्टिच्यूटका पशु चिकित्सकको सहयोग लिइएको थियो । राप्ती नगरपालिका क्षेत्रमा दैनिक ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस