संक्रमण स्थिर, मृत्युदर घटेन

पत्रपत्रिकाबाट

सोमबार, १० जेठ २०७८, ०७ : ५८
संक्रमण स्थिर, मृत्युदर घटेन

काठमाडौं । मुलुकमा कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था हेर्दा केही कमी आएको देखिएको छ ।

विज्ञहरूका अनुसार हाल समग्र नेपालको अवस्था हेर्दा कोभिडको पिक (उत्कर्ष) मा पुगेको जस्तो देखिए पनि एक सातापछि स्पष्ट अवस्था देखिनेछ । एक साताको विश्लेषणले संक्रमण लगभग स्थिर जस्तो देखिन्छ । तर मृत्युदर भने घटेको छैन ।

‘गत साताको दाँजोमा यो साता समग्र नेपालमा नयाँ देखिने संक्रमितको संख्यामा ५.७ प्रतिशत कमी आएको छ,’ काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सका महामारीविद् डा. अर्चना श्रेष्ठले कान्तिपुरसँग भनिन्, ‘दैनिक संक्रमणको अवस्थामा केही कमी देखिए पनि क्लस्टर (समूह) अनुसार हेर्दा स्थान विशेषअनुसार संक्रमणमा घटबढ देखिएको छ ।’

आइतबार भएको १८ हजार ९ सय ६५ नमुनाको पीसीआर परीक्षणमा ४०.०६ प्रतिशत अर्थात् ७ हजार ५ सय ९८ जना पोजिटिभ देखिएका छन् । १ सय ९३ जनाको मृत्यु भएको छ । गत वर्षदेखि हालसम्म कोभिडले मुलुकमा ६ हजार ३ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो साताको तुलनामा एक सातायता कोभिडले मृत्यु हुनेहरूको संख्या भने बढेको छ । यो साता हालसम्मकै बढी १ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ भने पछिल्लो साता १ हजार २ सय ८१ जनाको मृत्यु भएको थियो । दोस्रो लहरअन्तर्गत वैशाख १ देखि हालसम्मको ४० दिनमा कोभिडले ३ हजार २ सय ८८ जनाको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस