तनहुँ । कोरोना सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द छन् ।निषेधाज्ञाका बीचमा पनि एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम भने धमाधम भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको कामलाई गति दिइएको आयोजनाले जनाएको छ । गत वर्षको निषेधाज्ञामा पनि आयोजनाको काम रोकिएको थिएन ।
आयोजनाको तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । प्याकेज १, प्याकेज २ र प्याकेज ३ का कामहरु धमाधम सञ्चालन भइरहेको घिमिरेले बताए । “निषेधाज्ञामा काम रोकिएको छैन, सबै सुरक्षा अपनाएर कामलाई गति दिएका छौ,” उनले भने ।
केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गर्न तयारी थालिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन लि। नेपाल जेभीसँग सम्झौता गरेको थियो ।
घिमिरेका अनुसार भियतनामी कम्पनी र नेपाली कम्पनीका प्रतिनिधिहरु फिल्डमा खटिएका छन् । दुवै कम्पनीका गरी २५ जना पूर्वतयारीको काममा जुटेको घिमिरेले बताए ।
प्याकेज २ अन्तर्गतको विद्युतगृह निर्माणका लागि पनि काम भइरहेको छ । त्यसका लागि कर्मचारी र श्रमिक गरी तीन सय ७० परिचालित छन् । प्याकेज २ को कामका लागि दुई सय ५० श्रमिक क्याम्पभित्रै छन् । कोरोना जोखिम भएका कारण वरपरका केही सीमित श्रमिकमात्रै काममा परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३० बैशाख २०७८, १४ : २३
लेखकबाट थप