नेता योगेश भट्टराईले राज्यले सार्वजनिक स्वास्थ्यलाई प्रमुख दायित्व नसम्झिएको भन्दै दिए यस्तो सुझाव....

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १० : २६
नेता योगेश भट्टराईले राज्यले सार्वजनिक स्वास्थ्यलाई प्रमुख दायित्व नसम्झिएको भन्दै दिए यस्तो सुझाव....

काठमाडौं । नेकपा एमालेका झलनाथ खनाल र माधव नेपाल पक्षका नेता योगेश कुमार भट्टराईले विगतदेखि कै सरकारहरुले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर पर्याप्त काम नगरेका कारण आज यो बिस्फोटको अवस्था आएको आरोप लगाएका छन् । उनले कोरोना नियन्त्रणका लागि चीन सरकारसँग सहयोग माग्न सरकारलाई आग्रह समेत गरेका छन् ।

बिहीवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले भारत लगायत अन्य देशका सरकारलाई पनि सहयोगका लागि अपिल गर्न सुझाव दिएका छन् । उनले कोभिड बिरुद्धको लडाईँमा राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नु पर्ने बताउँदै राष्ट्रको मिसन कोभिड १९ लाई बनाउन सुझाव दिएका छन् ।

सामाजिक संजालमा उनले यस्तो लेखेका छन् : सरकारलाई ध्यानाकर्षण 
आज विश्व नै कोभिडबाट आक्रान्त छ । हरेक दिन बिरामीहरुको अकाल मृत्यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरू लाचार बनिरहेको अवस्था छ । हाम्रो देश अझ संकट तिर जाँदै छ । विगतदेखि कै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ । बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौ । यस्तो समवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरूले सरकार, राज्यसंयन्त्र तथा राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टी बढदै गएर व्यबस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ ।  

निम्न बिषयमा सरकारको ध्यानाकर्षण गर्दछु 
१. अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरी नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।  

२. २०७२ को महा भुकम्प पछी जसरी राजनीतिक बिमतिहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बिचमा १६  बुँदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईँमा फेरी एक पटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।  

३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईँमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।  

४. आर्थिक अभाव हुन नदिने । अन्य शिर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईँमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।

प्रतिक्रिया दिनुहोस