गालीगलौजमा उत्रिए नेता: मतदातालाई प्रभावित गर्न उत्तेजित भाषण

शुक्रबार, १५ मंसिर २०७४, ०८ : १८
गालीगलौजमा उत्रिए नेता: मतदातालाई प्रभावित गर्न उत्तेजित भाषण

चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक-अर्काविरुद्ध खनिन थालेका छन् । जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन् ।

एकले-अर्कोलाई लोकतन्त्र मास्ने खेलमा लागेको, पश्चगमन ब्यूँताउन लागेको, सम्मान गर्न नजानेको जस्ता आरोपसहित नेता चुनावी अभियानमा होमिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले-माओवादीले पार्टी एकताको सैद्धान्तिक सहमति गरी चुनावी तालमेल गरेसँगै दुई धु्रवीय राजनीतिमा विभाजित वामपन्थी र लोकतान्त्रिक शक्तिबीच आरोप-प्रत्यारोप हुन थालेको हो ।

चुनावको मुखमा मतदातालाई प्रभावमा पार्न दलहरू हदैसम्मका आरोप-प्रत्यारोपमा उत्रिएको बुझाइ मनोविश्लेषकको छ ।

मनोविश्लेषक प्रोफेसर डा. शिशिर सुब्बा ५०-६० वर्षअगाडिको जस्तो राजनीति अहिले नरहेको र मतदातालाई प्रभावित गर्न उत्तेजित भाषण गर्ने शैली विकास हुँदै गएको बताउँछन् । ‘अहिले आइडियोलोजी (विचार) कुरैमा सीमित छ, सर्वसाधारणलाई साथ लिन दलका नेताले जे पनि बोल्न थालेका छन्,’ उनले भने, ‘पढे-लेखेका, विद्वता भएका मान्छेको समूह सानो छ । धेरै मतदाता न्युट्रल छन्, उनीहरूलाई पक्षमा तानेर कसरी चुनाव जित्ने भन्नेमै छन्, सडकको डिमान्ड पनि त्यस्तै छ । त्यसैले नेता उत्तेजित शैली र छुद्र भाषामा सडक तताउन खोज्छन् ।’

प्रतिक्रिया दिनुहोस