वाम गठबन्धन भर्सेज लोकतान्त्रिक गठबन्धन : यी हुन् संघ र प्रदेशका उम्मेदवार

विहीबार, १६ कार्तिक २०७४, २० : ३५
वाम गठबन्धन भर्सेज लोकतान्त्रिक गठबन्धन  :    यी हुन् संघ र प्रदेशका उम्मेदवार

चितवन । आगामी मंसिर २१ गते दोस्रो चरणमा मतदान हुने प्रतिनिधि सभा (संघ) र प्रदेश सभा सदस्य पदका लागि बिहीबार उम्मेदवारी दर्ता भरतपुरमा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । मुख्य प्रतिस्पर्धा संयुक्त वाम गठवन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच हुने सबैको आँकलन छ ।

वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । रोल्पा, काठमाण्डौ, सिरहा हुदै ११ वर्ष पछि आफ्नै गृह जिल्ला चितवनबाट उनले प्रतिनिधि सभाको सदस्यको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
चितवनको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ बाट उनको प्रस्तावकमा नेकपा माओवादी केन्द्र केन्द्रीय अनुशासन विभागका अध्यक्ष अमिक शेरचन र समर्थकमा नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर तीनका संयोजक रामजीप्रसाद सापकोटा रहेका छन् । प्रचण्डले दिउँसो एक बजेर ३० मिनेट जाँदा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यमा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले संयुक्त वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन् ।

वाम गठबन्धनले प्रदेशतर्फ क्षेत्र नम्बर एक (क) मा दावा लामा र (ख) मा कृष्ण खनाल, क्षेत्र नम्बर दुई (क) मा घनश्याम दाहाल र (ख) मा विजय सुवेदी एवं क्षेत्र नम्बर तीन (क) मा कृष्ण भुर्तेल र (ख) मा रामलाल महतोलाई उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेससहितको लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर तीनमा प्रतिनिधि सभा सदस्यमा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष बिक्रम पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर एकमा प्रतिनिधि सभा सदस्यमा राजेन्द्र बुर्लाकोटी, प्रदेश सभा एक (क) मा धनबहादुर गुरुङ र (ख) मा उत्तम आचार्यले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर दुईमा प्रतिनिधि सभा सदस्यका लागि शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, प्रदेशतर्फ दुई (क) मा जीतनारायण श्रेष्ठ र (ख) मा प्रकाश अधिकारीलाई उम्मेदवार बनाइएको छ । क्षेत्र नम्बर तीनको प्रदेश सभाका लागि तीन (क) मा दिनेश कोइराला र (ख) मा साजनकुमार महतोले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस