कोरोनाको महामारीका बाबजुद पनि भरतपुरमा तीव्र विकास, गौरवका आयोजनाहरु समयमै सक्न मेयर रेनु दाहालको निर्देशन

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १७ : ५०
कोरोनाको महामारीका बाबजुद पनि भरतपुरमा तीव्र विकास, गौरवका आयोजनाहरु समयमै सक्न मेयर रेनु दाहालको निर्देशन

चितवन । यतिबेला सिंगो देश नै कोरोनाको महामारीमा पिल्सिएको छ । देशकै मध्येभागमा रहेका कारण चितवनको भरतपुरमा पनि कोरोनाको संक्रमण दर उच्च रहेको छ । यतिखेर भरतपुर महानगर एकातिर कोरोना भाइरसको नियन्त्रणको लागि लडिरहेको छ भने अर्कोतिर दर्जनौँ गौरवका आयोजनाहरुलाई पनि समयमै सक्न धमाधम काम अगाडि बढाइरहेको छ । 

‘भरतपुर महानगरपालिका एकातिर कोरोनाविरुद्ध लडिरहेको छ, अर्कोतिर महानगरमा भइरहेका विकासका कुनै कामलाई हामीले रोक्ने कुरा त आउँदै आएन, सुस्त गतिमा समेत गरेका छैनौँ, तीव्रताका साथ काम गरिरहेका छौँ ।’ भरतपुर महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘भरतपुर महानगरमा धमाधम भइरहेका सिटी हलदेखि ६ लेन सडकजस्ता गौरवका आयोजनाहरुलाई समयमै सक्न निर्माण व्यवसायीहरुलाई निर्देशन दिएको छु । उनले भरतपुर महानगरमा कोरोनाको बाबजुद पनि विकासको कामले गति लिएको बताइन् । 

महानगरपालिकको अगुवाइमा प्रदेश र संघीय सरकारको साथकै कारण महानगरमा ठूला आयोजना अघि बढेका महानगर प्रमुख दाहालले बताइन् । उनका अनुसार भरतपुर महानगरीय रिङरोग, लिंकरोड, सिटी हल, पूल्चोक–गोन्द्राङ ६ लेन सडक गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, नारायणी नदी किनारलाई सीबीच मोडेलमा विकास, नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन, भरतपुर विमानस्थल विस्तार, स्मार्ट सडक बत्तीजस्ता दर्जनौ गौरवका आयोजनाहरु यतिबेला धमाधम भइरहेका छन् । 

महानगर प्रमुख दाहालले भनिन्, ‘कोरोनाका महामारीका बाबजुद पनि भरतपुर महानगरले विकासमा धेरै फड्को मारेको छ, कोरोनालाई देखाएर यहाँ कुनै पनि विकासका कामहरु रोकिएको छैन र रोक्ने पनि छैनौँ ।’ भरतपुरभित्र बन्दै गरेका दर्जनभन्दा बढी आयोजनाहरुले यतिबेला तीव्रता पाइरहेको प्रमुख दाहालले बताइन् । उनले भनिन्, ‘आयोजनाको निर्माणको काम रातदिन भइरहेको छ, निर्माण पक्षलाई कुनै पनि बहानामा काममा सुस्तता ल्याउन कुनै छूट हुने छैन र दिइने पनि छैन । 

यतिबेला ६ लेन सडक र सिटी हल निर्माणले तीव्रता पाइरहेको छ । रातदिन काम भइरहेको निर्माण पक्षले जनाएको छ । भरतपुर महानगरपालिकाको वडा नं १ र ३ को नारायणी नदी किनारालाई ‘सी बीच मोडेल’ मा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने गरी काम पनि अगाडि बढाइएको छ । दाहालका अनुसार गत आर्थिक वर्षमा महानगरबाट रु एक करोड रकम खर्च भई फुटपाथ बनेको थियो । यस आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट करिब रु सात करोडको बोलपत्र आह्वान भइसकेको छ । यससँगै यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ । 

पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने काम यतिबेला धमाधम भइरहेको छ । सडक निर्माणको जिम्मा इण्डो सगुन जेभीले पाएको हो । इण्डो सगुन जेभीले कुनै दिन काम नरोकी धमाधम गरिरहेको सडक डिभिजन भरतपुर कार्यालयले जनाएको छ । हाल दुई लेन रहेको छ किलोमिटर सडकखण्डलाई छ लेन बनाउने काम भइरहेको हो । सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–बुटवल सडकखण्डकै आधारमा यो सडक निर्माण गरिएको डिभिजन सडक कार्यालयका इञ्जीनियर विजय दराईले बताए । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्याइएको छ । उक्त सडक निर्माणपछि देशकै नमुनाको सडक बन्नेछ । 

पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताइन् । यो सडक बनेपछि भरतपुरको स्वरूप नै परिवर्तन हुने उनको भनाइ छ । भरतपुरमा महानगर सिटी हल निर्माणको काम पनि यतिबेला धमाधम भइरहेको छ । महानगरपालिकाले उपलब्ध गराएको जमिनमा संघीय सरकारको बजेटबाट सिटी हल निर्माणको काम गरिएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका आयोजना प्रमुख प्रकाश अर्यालले सिटी हल निर्माणको काम कुनै दिन पनि नरोकिएको र तोकिएकै समयमा सकिने बताए । इण्डो सगुन रौताहा जेभी निर्माण कम्पनीले ८७ करोड ८८ लाख रुपैयाँ लागतमा २७ महिनामा निर्माण सक्ने गरी भरतपुर महानगरसँग सम्झौता गरेको हो । प्रमुख अर्यालले ने, ‘एक दिन ढिला नगरी तोकिएकै समयमा काम सक्ने गरी अगाडि बढेको छ ।’ 
निर्माणलाई गुणस्तरीय बनाउन नियमित अनुगमन भइरहेको उनको भनाइ छ ।

इन्डो सगुन रौताहा जेभीले सिटी हल निर्माणको जिम्मा पाएको छ । बजेट समयमै प्राप्त भए र स्थानीय समस्या केही नआए तोकिएको समयअघि नै काम सक्ने निर्माण कम्पनीका प्रतिनिधि सहदेव खड्काले बताए । भरतपुर महानगरले जिल्लाको प्रमुख सहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) को काम पनि अगाडि बढाएको छ । सिङ्गो सहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो ।

भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण, वित्त, सञ्चालन एवं हस्तान्तरण विधिबाट भवन बनाउँदै छ । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार बहुउद्देश्यीय भवन निर्माणको काम पनि अगाडि बढाइएको छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन, नियमावली बनाएर राजपत्रमा प्रकाशित गरी व्यावसायिक भवन बनाउन लागेको हो । 
 
महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, नियमावलीबमोजीम एकाइ प्रवर्द्धन समिति गठन गरी काम अघि बढाइएको छ । समितिको सचिव भरतकुमार  आचार्यका अनुसार करिब दुई अर्ब लगानी गरेर भवन बनाउन लागिएको हो । तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ भने उनीहरूले निर्माण पछि उपयोग गर्ने अवधि २७ वर्ष पाउने छन् ।

प्रस्ताव पेश गर्ने कम्पनीले १२ देखि १४ तल्ला बनाउने प्रस्ताव गरेका छन् । दुई तला भूमिगत पार्किङ हुनेछ । आचार्यका अनुसार कम्तीमा २५ लाख वर्ग फिटको भवन बन्ने छ । जहाँ २०० भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने छ भने २०० भन्दा बढी दुई पाङ्ग्रे सवारी पार्किङ गर्न सकिने छ । पेश भएका प्रस्तावमा पाँच तारे होटलसमेत उल्लेख छन् । महानगरपालिकाले नै कम्तीमा तीन तारे होटल हुनैपर्ने उल्लेख गरेको छ ।
एउटै भवनभित्र सबै खालका सुविधा प्राप्त गर्ने भएकाले भरतपुर महानगरको सहरभित्रको एउटा महत्वपूर्ण सहरको रुपमा व्यावसायिक भवन बन्ने अपेक्षा गरिएको छ । 

भरतपुर महानगरपालिका–११ को गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्ने काम धमाधम भइरहेको छ । उक्त ठाउँमा पानी पोखरी, मन्दिर, पार्कलगायतका संरचना बन्नेछन् । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा यसलाई विकास गर्न लागिएको प्रमुख दाहालले बताइन् । भरतपुर महानगरपालिका हुँदै जिल्लाको ठोरीसम्म पुग्ने हुलाकी सडकको काम पनि भइरहेको छ ।

महानगरभित्र पर्ने हाकिमचोक जगतपुर सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको छ मिटर सडकलाई सात मिटर कालोपत्रे बनाउने र बाँकी नौ किमी सडकखण्डलाई सतह ढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ । चौबिसकोठी रामपुर चनौली मेघौली सडकखण्डमध्ये हाल रामपुर चनौलीखण्ड निर्माण सम्पन्न भएको छ भने चनौली–मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ । ६५ किलोमिटर लिङ्करोडको काम अघि बढिरहेको छ । 

यसैगरी भरतपुर महानगरपालिका–२० मा प्रदेशस्तरको उद्योगग्राम र वडा नं २१ पार्वतीपुरमा सङ्घीय उद्योग ग्राम निर्माण अघि बढेको छ । पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शवदाहस्थल बन्दै छ । महानगरपालिकाभित्र नै नगरवासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माणको काम धमाधम भइरहेको दाहालले जानकारी दिइन् । महानगरभित्र विभिन्न आयोजना गरी खानेपानीतर्फ मात्रै रु दुई अर्ब ४१ करोडभन्दा बढीका आयोजना सञ्चालनमा रहेको उनको भनाइ छ । महानगर पूरै क्षेत्रलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताइन् । 

महानगरभित्र रहेको सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सरजस्ता स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि महानगरले काम गरिरहेको छ । यस्तै महानगरको भरतपुरमा हाल रहेको विमानस्थल विस्तारका लागि काम शुरु भएको छ । महानगरपालिकाको मुख्य शहरी क्षेत्रका सडकमा रु ११ करोड ४९ लाख ८९ हजार लागतमा स्मार्ट बत्ती जडानको काम पनि शुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस