पुलबाट खसेर बेपत्ता भएका मजदुरको शव भेटियो

प्रकाश सिग्देल

बुधबार, १५ बैशाख २०७८, १३ : ४२
पुलबाट खसेर बेपत्ता भएका मजदुरको शव भेटियो

चितवन । ठिमुरा र देवघाट जोड्ने पुलबाट खसेर बेपत्ता भएका १ जना मजदुरहरुको शव बुधबार बिहान फेला परेको छ । निर्माणका क्रममा पुल भाँचिएपछि पुलबाट खसेर बेपत्ता भएका सुजित माझी र श्यामबाबु पाठक मध्य १ जनाको  शव फेला परेको निमार्ण समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।

घटनास्थलबाट नौ सय मिटर तल देवघाट जाने झोलुङ्गे पुल देखी माथी शरिरमा सेफ्टी बेल्ट लगाइरहेकै अवस्थामा ढुंगाको कापोमा शव फेला परेको र अर्का १ जनाको खोजी कार्य जारी रहेको उनले बताए ।

ठेकेदारको लापरबार्हीका कारण यो घटना भएकाले घटनाको छानविन गरी दोषी उपर कडा कारबार्ही गर्न र मृतक मजदुरको अन्त्यष्टि सहित परिवारलाई क्षतीपूर्ति उपलब्ध गराउन र घाईतेको निशुल्क पुर्ण उपचार गर्न पनि पौडेलले आग्रह गरे ।

बैशाख १२ गते पुलको ट्रस्ट मिलाउने क्रममा ट्रस्टसँगै नदीमा खसेर एक मजदुरको मृत्यु र दुई जना वेपत्ता भएका थिए भने ८ जना घाइते भएका थिए । यस अघि चैत्र २४ गते चितवन तर्फको ढलान भएको दुई स्ल्याव भाँचिएको थियो भने बैशाख १२ गते तनहुँ तर्फको स्टीलको स्ल्याव भाँचिएको हो । इलाइट, एड्भेन्चर र इन्द्रेणी गरी तीन कम्पनी मिलेर पुल निमार्ण गरेका हुन् ।

निमार्ण व्यवसायीले समयमै पुल निमार्ण गर्न नसकेपछि सडक डिभिजन कार्यालय चितवनले  पुल निमार्णका लागी २ पटक समय थप समेत गरेको थियो । ठेकेदार कम्पनीले राम्रो काम नगरेको र  समयमा नै काम हुन नसकेको भन्दै स्थानियले पटक–पटक विरोध गर्दै आएका थिए ।

सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको थियो । डिजाइन संशोधनमा १८ महिना, भूकम्पमा ६ महिना र नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो । पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो । निर्धारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेको बारे महालेखाले चासो व्यक्त गरेको थियो । २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भएको पुल २०७४ कात्तिक २० गते  भित्र बनाइसक्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस