भारतमा एकैदिन करिब ३ लाख जनामा कोरोना संक्रमण, २ हजार बढीको मृत्यु

एजेन्सी

बुधबार, ०८ बैशाख २०७८, ०९ : २४
भारतमा एकैदिन करिब ३ लाख जनामा कोरोना संक्रमण, २ हजार बढीको मृत्यु

एजेन्सी । कोरोना संक्रमण भयावह रुपमा फैलिरहेको भारतमा मंगलबार एकैदिन झन्डै ३ लाख मानिसमा संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बितेको २४ घंटामा २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको हो । 

मंगलबार एकैदिन भारतभर २ हजार २१ जना संक्रमितले ज्यान गुमाएका छन्। कोरोनाभाइरस फैलिन थालेपछि भारतमा दैनिक यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो । भारतमा अहिले १ सय जनालाई परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिने गरेको छ । महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तरप्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ।

भारतमा पहिलो लहर सबैभन्दा धेरै दैनिक संक्रमण ९८ हजारमात्र थियो । संसारमा कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएको यो दोस्रो घटना हो । यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो। भारतमा संक्रमितको संख्या थपिएसँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ ।

यसैबीच मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको महामारी रोक्न लकडाउन अन्तिम अस्त्र भएकाले लकडाउन हुन नदिने अरू उपायहरू अपनाउनु पर्ने बताएका थिए । भारतमा अहिलेसम्म १ करोड ५६ लाख मानिसमा कोरोना संक्रमण छन् भने १ लाख ८२ हजार संक्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस