नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विना निष्कर्ष सकियो

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १२ : १८
नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विना निष्कर्ष सकियो

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको छ । प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन बसेको दलको बैठक विनानिष्कर्ष टुङ्गिएको हो ।

आज बिहान ९ बजेदेखि सुरु भएको दलको बैठक ११ बजे विनानिष्कर्ष टुङ्गिएको र पुनः बस्ने कांग्रेसका एक सांसदले जानकारी दिए । ‘बैठक विनानिष्कर्ष टुङ्गिएको छ, संसद बैठक बस्नु अगाडि नै फेरि बस्छौं,’ ती सांसदले भने ।

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ । एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ।

यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

आजको बैठकमा मुख्यमन्त्री शाहीले संसदबाटै विश्वासको मत लिने र यही सरकारले निरन्तरता पाउने माओवादी सांसदको दाबी छ । एमालेकै केही सांसदहरु फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा उभिने माओवादीको अपेक्षा छ।

४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्यमध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ ।

बहुमतका लागि एमालेसँग सभामुखसहित २० जना सांसद छन् । माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।
 

प्रतिक्रिया दिनुहोस