आज कर्णालीका मुख्यमन्त्रीले विश्‍वासको मत लिँदै ,जोगिएला त शाहीको पद ?

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, ११ : ०४
आज कर्णालीका मुख्यमन्त्रीले विश्‍वासको मत लिँदै ,जोगिएला त शाहीको पद ?

कर्णाली । कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले पाउने÷नपाउने टुङ्गो लाग्नेछ । सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका छन् ।

विश्वासको मत नपाए मुख्यमन्त्री शाही नेतृत्वको सरकार विस्थापित भई नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । मुख्यमन्त्रीले विश्वासको मत लिनलाई प्रदेशसभाका २० सदस्यको मत पाउनुपर्छ तर प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ सदस्य मात्र छन् । 

माओवादी केन्द्रका प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यलाई अपिल गरेका छन् । “प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नु हुन प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्वद्ध माननीय सदस्यज्यूहरुमा हार्दिक अपिल गर्दछु”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्रले नेपाली कांग्रेस र राप्रपाको समर्थन पाउने गरी संवाद भइरहेको जनाएको छ । प्रदेशसभामा कांगे्रसका छ तथा राप्रपाका एक सदस्य छन् भने एमालेका सभामुखसहित २० सदस्य छन् । एमाले प्रमुख सचेतक गुलाबजङ्ग शाहले सबै दल मिल्दासमेत मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको बताए । “पार्टी निर्णयअनुसार एमालेको सबै सांसद एकढिक्का भएको अवस्था छ”, उनले भने , “यदि मत बराबर नै भयो भने पनि सभामुखको मत निर्णायक हुनेछ ।” मुख्यमन्त्री पक्षधरले ‘एमालेका केही सांसदले ‘फ्लोर क्रस’ गर्छन्’ भनेर गलत हल्ला फैलाइएकामा आपत्ति जनाए।    
 

प्रतिक्रिया दिनुहोस