निर्वाचन आयोगमा पुग्यो माओवादीले हटाएका चार सांसदको पत्र

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, ०८ : ५२
निर्वाचन आयोगमा पुग्यो माओवादीले हटाएका चार सांसदको पत्र

काठमाडौं । निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्रले कारवाही गरेर हटाएका प्रतिनिधि सभाका चार सांसदको निस्कासनसम्बन्धी औपचारिक पत्र पुगेको छ । रिक्त रहेका पदहरुमा उपनिर्वाचन गराउन आफू तयार रहेको निर्वाचन आयोगले जनाएको छ । तर, संघ र प्रदेशमा सबै रिक्त स्थानहरूका एकैचोटि उपचुनाव गराइने आयोगले स्पष्ट पारेको छ ।

प्रतिनिधि सभाका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले माओवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेपछि माओवादीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो । चारैजना सांसदहरु पदमुक्त भएको औपचारिक पत्र निर्वाचन आयोगमा आइपुगेको आयोगले बताएको छ । 

पत्र प्राप्त भएसँगै आयोगलाई चारैजना सांसदको रिक्त स्थानमा उपनिर्वाचनको तयारीमा लाग्न बाटो खुलेको आयोग स्रोतले बताएको छ  । स्रोतले भन्यो, ‘निर्वाचन आयोगमा पत्र आइपुगेपछि अब आयोगले आफ्नो काम गर्छ ।’

आयोगले उपचुनावका लागि आफू तयार रहेको बताए पनि सरकारले उपनिर्वाचन गर्नुपर्ने सबै रिक्त स्थानहरुबारे औपचारिक पत्र आयोगलाई बुझाइसकेको छैन । प्रतिनिधि सभाका सदस्यसँगै प्रदेश सांसद र राष्ट्रिय सभाका सांसदहरुलाई पनि पार्टीहरुले कारवाही गर्ने प्रक्रिया जारी छ । विभिन्न प्रदेशहरूमा सांसद पदहरु रिक्त भइरहेका छन् । ती सबै स्थानमा एकैचोटि उपचुनाव गर्ने आयोगको लक्ष छ ।

देशैभरि खालि रहेका संघ, प्रदेश र स्थानीय तहमा एकचोटि उपनिर्वाचन गर्नुपर्ने भएकाले प्रंंतिनिधिसभाका चारजनाको मात्रै पत्र आएर पर्यप्त नहुने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ मा प्रतिनिधि सभाको उपनिर्वाचनबारे उल्लेख छ । उक्त दफामा भनिएको छ, ‘पहिलो हुने निर्वाचित हुने कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।

प्रतिक्रिया दिनुहोस