काठमाडौं । आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ । रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आज सञ्चारकर्मीलाई जानकारी दिए ।
डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फन पार्कमा ३० जना स्थानीयलाई प्रत्यक्ष्य रोजगारी दिँदै नयाँ वर्ष २०७८ को अवसर पारेर शनिबार उद्घाटन गरी सञ्चालनमा ल्याउने भएको हो ।
कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिए । एकै ठाउँमा घुम्न र रमाइलो गर्न जाने सुरक्षित ठाउँको अभाव भइरहेको बेलामा आन्तरिक पर्यटनको विकास गर्ने लक्ष्यसाथ बालबालिकादेखि, विद्यार्थी, युवायुवती र पारिवारिक सदस्यले एकै ठाउँमा मनोरञ्जन लिनसक्ने गरी यो पार्क सञ्चालनमा आउन लागेको हो ।
काठमाडौँको कोटेश्वर–सूर्यविनायक छ लेन सडकको अन्तिम बिन्दु सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै पलासेमा सञ्चालित फनपार्कले जल र स्थल गरी ११ वटा विभिन्न खेल खेल्न पाउने र उमेरअनुसारको तीन वटा पौडी पोखरीको व्यवस्था गरिएको छ । मुम्बईको ‘वाटर किंगडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट त्यस्तै फनपार्क सञ्चालनमा ल्याउने उद्देश्यअनुरुप ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा करिब तीन हजारले रमाउन सक्ने गरी पार्क सञ्चालनको व्यबस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ चैत्र २०७७, ११ : ५८
लेखकबाट थप