बलेवा । बडिगाड गाउँपालिका - ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली शुङ्खला, गुल्मी, पाल्पा र प्यूठानका धेरै स्थान देखिने भएकोले बडिगाड गाउँपालिका र वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले पर्यटन प्रबद्र्धनको अभियान थालिएको हो ।
पर्यटकको आर्कषणका लागि यहाँ सिद्धबाराही मन्दिर निर्माण थालिएको छ । वडा कार्यालयको अगुवाइमा गाउँपालिकाले रु १० लाख विनियोजन गरेपछि चालू वर्ष मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण सकेर पर्यटकको आर्कषक गन्तव्य बनाउने योजना बनाइएको वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताए ।
यो स्थानमा पुग्न मध्यपहाडी लोकमार्गको भीमगिठे बजारबाट एक घण्टा जीपको यात्रा गर्नुपर्छ । पदयात्रा गरेर घुम्न चाहनेका लागि पनि यो स्थान आर्कषक गन्तव्य हो । भीमगिठेबाट दुई देखि ३ घन्टामा पैदलयात्रा गर्न सकिने भएकोले एकदिने यात्रा गर्न चाहनेलाई यो मार्ग आर्कषक रहेको स्थानीयवासी गण्डकी थापा अधिकारीले बताईन् ।
“उच्च स्थानमा रहेकोले पर्यटक आर्कषण गर्न सक्ने स्थान छ”, उनले भनिन् , “यहाँ वनभोज स्थलसमेत बनाउन सकेमा वरपरका मानिसलाई भित्र्याउन सकिन्छ । ” पदमार्ग आसपासमा पनि साना होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न सकिने उनले बताईन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २६ चैत्र २०७७, १२ : ३७
लेखकबाट थप