बलेवा । कोरोना महामारीको चपेटामा परेका बागलुङका घरवास होमस्टेमा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।
जिल्लामा पहिलोपटक सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरवास भकुण्डेमा पछिल्लो एक महिनायता बिदाका दिनमा पर्यटक पुग्ने गरेका छन् । जिल्लाका झण्डै तीन दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अधिकांश घरवास सेवा विस्तारै शुरु हुन थालेको अतिथि सत्कार सामुदायिक घरवास बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष खिमबहादुर थापाले बताए।
कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएका घरवास पहिलेका जस्तो भरिभराउ भने हुन् सकेका छैनन् तर कोरोना महामारीको समयमा ठप्प रहेका घरवासमा विस्तारै चहलपहल देखिन थालेको हो । काठेखोला गाउँपालिका–७ रेशमा सञ्चालनमा रहेको डोटा देउराली सामुदायिक घरवासमा पनि आन्तरिक पर्यटक पुग्न थालेका छन् । स्थानीय खानाको स्वाद र घरवास आसपासमा रहेका पर्यटकीय क्षेत्रमा घुम्रेका लागि त्यहाँ पुग्नेको सङ्ख्या धेरै छ ।
घरवासबाट देखिने प्राकृतिक दृश्यका साथै स्थानीय जातजातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम शुरु भएको डोटा देउराली सामुदायिक घरवास रेशका सञ्चालक प्रेमबहादुर थापाले बताए । “स्थानीय कुखुरा र कोदोको ढिँडो खोज्दै बजारदेखि गाउँ आउने धेरै छन्”, थापाले भन्नुभयो, “एक वर्ष हात पट्याएर बसियो, अहिले विस्तारै मान्छे आउन थालेका छन् ।”
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २१ चैत्र २०७७, १० : ०२
लेखकबाट थप