खोटाङ । राष्ट्रिय जनगणना २०७८ को सन्दर्भ पारेर जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला जनगणना कार्यालयले बुधबार सचेतना गोष्ठी गरेको हो ।
आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउन जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख, पत्रकार लगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी जीतबहादुर कोइराला जेबीले जानकारी दिए।
“जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषतासम्मका बारेमा जानकारी दिन सचेतना गोष्ठी गरिएको हो”,उनले भने ,“सहभागीलाई गनगणनाका प्रश्नावली, घर परिवार लगत सूचीकरण, जनगणना २०७८ को मुख्य दिन, जनगणनामा समेटिने विवरणका बारेमा पनि जानकारी गराइएको छ ।”
जनगणना अभियान २०७८ अन्तर्गत दिक्तेलमा गत चैत ३ गते जिल्ला जनगणना कार्यालय स्थापना गरिएको थियो । आगामी वैशाख १ गतेदेखि ४ गतेसम्ममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका कार्यक्षेत्र रहनेगरी दिक्तेलमा स्थानीय जनगणना कार्यालय स्थापना गरिने जनाइएको छ ।
दुई चरणमा हुने राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक र गणक गरी करीब ३६० जना जनशक्ति परिचालन गरिने कोइरालाले जानकारी दिनुभयो । नियुक्त भएका सुपरिवेक्षकले आगामी वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरणको काम गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १९ चैत्र २०७७, १२ : १९
लेखकबाट थप