उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो

रासस

बुधबार, १८ चैत्र २०७७, १४ : ०९
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो

उदयपुर । उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।

त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले जानकारी दिए। 

अहिले त्रियुगा नगरपालिकाको चुरे क्षेत्रमा  लागेको डढेलो स्थानीयवासी, प्रहरी र वनका कर्मचारी मिलेर नियन्त्रण गरेका छन् । त्रियुगा नगरपालिका क्षेत्रको पश्चिम चुरे क्षेत्र र दक्षिण चुरे क्षेत्रका दर्जनौ सामुदायिक वनमा डढेलो बढ्दै गएको छ ।

सो आसपासका गाउँ उच्च जोखिममा छन् । डढेलो नियन्त्रणमा वनका कर्मचारी, स्थानीयवासी र प्रहरी खटिएका छन् । हावाहुरी चल्ने क्रम बढ्दै गएपछि डढेलो फैलिँदै गएको त्रियुगा नगरपालिका– २ सनुवाका कृष्ण राजधामीले बताए  । जिल्लामा ३०० भन्दा बढी सामुदायिक वन छन् । चुरे क्षेत्रका सामुदायिक वन प्रायः गाउँसँग जोडिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस