‘जनावरबाट कोरोना सर्‍यो’

एजेन्सी

मंगलबार, १७ चैत्र २०७७, ०८ : ४३
‘जनावरबाट कोरोना सर्‍यो’

एजेन्सी । चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीको अध्ययनले कोरोना भाइरस चमेरोबाट अर्को जनावरमार्फत मानिसमा सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। 

एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोना भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ। अनुसन्धानका नतिजा यसअघि अपेक्षा गरिएअनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्न अनुत्तरित छन्। यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ। 

प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक ढिलाइ गरिएको छ। चिनियाँ अधिकारीले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा डब्लुएचओका एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने बताएका थिए।  एपीले जेनेभास्थित डब्लूएचओको कार्यालयका एक कूटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो। तर, उक्त प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने वा नहुने बारेमा भने केही स्पष्ट छैन। 

अनुसन्धाताहरूले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन्। जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोना भाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ। चिसोमा राखिएको मासुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना देखिएको छैन। कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ। तथापी, प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स–कोभ–२ भाइरसबीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुन सक्ने देखिएको छ।

प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालक (प्यान्गोलिन)मा पनि भेटिएको उल्लेख छ। तर, मिन्क (पानी र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव)  र बिरालामा पनि कोभिड भाइरस संक्रमण हुने खतरा देखिएको छ। यी जीवजन्तुबाट पनि कोभिड फैलिन सक्ने खतरा बढी देखिएको प्रतिवेदनमा भनिएको छ। उक्त प्रतिवेदन डब्लुएचओको अन्तर्राष्ट्रिय विज्ञहरूले कोभिड फैलिएको उद्गम स्थल उहानको भ्रमणमा आधारित छ। 

प्रतिक्रिया दिनुहोस