विश्वकप फुटबल छनोटमा  फ्रान्स, इंग्ल्याण्ड, इटली र जर्मनी विजयी

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, ११ : ३३
विश्वकप फुटबल छनोटमा  फ्रान्स, इंग्ल्याण्ड, इटली र जर्मनी विजयी

काठमाडौं । विश्वकप छनोट अन्तर्गत ठूला टिमहरु फ्रान्स, इंग्ल्याण्ड, इटली र जर्मनी विजयी भएका छन् ।समूह डी मा पहिलो जित हात पार्ने क्रममा फ्रान्सले कजाखस्तानलाई २-० ले हरायो ।

फ्रान्सका लागि उसमान डेम्बेलेले १९ औं मिनेटमा गोल गरे । यस्तै कजाखस्तानका सर्जी माल्यीले ४४औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।फ्रान्सले दोस्रो हाफमा पेनाल्टी अवसर पाए पनि किलिएन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् ।

पहिलो जितपछि २ खेलबाट ४ अंक जोड्दै फ्रान्स समूह डी को शीर्ष स्थानमा छ । पहिलो खेलमा फ्रान्स युक्रेनसँग बराबरीमा रोकिएको थियो । यसै समूहको अर्को खेलमा युक्रेनले फिनल्याण्डसँग १-१ को बराबरी खेलेको छ ।यस्तै समूह आईमा इंग्ल्याण्डले अल्वानियालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

इंग्लयाण्डको जित ह्यारी केनले एक गोल गरे भने अर्को गोलका लागि मासोन माउन्टलाई सहयोग गरे । केनले ३८औं र माउन्टले ६३औं मिनेटमा गोल गरे ।लगातार दुई जितपछि ६ अंक जोड्दै इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ ।

यसै समूहको अर्को खेलमा पोल्याण्डले एन्डोरालाई र हंगेरीले सानमारिनोलाई समान ३-० ले पराजित गरेको छ । दुवैको यो पहिलो जितसमेत हो । पोल्याण्डको जितमा रोवर्ट लेवान्डोस्कीले दुई र कारोल स्वीडेस्कीले एक गोल गरे । जितपछि पोल्याण्ड र हंगेरीको समान ४ अंक छ ।

समूह सी मा इटलीले बुल्गेरियालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । इटलीलाई जिताउन आन्द्रे बेलोट्टीले पेनाल्टीमा ४३औं मिनेटमा पहिलो गोल गरे भने मानुएल लोकाटोलीले ८२औं मिनेटमा अर्को गोल गरे ।

लगातार दोस्रो जितपछि २ खेलबाट ६ अंकहित इटली शीर्ष स्थानमा छ । स्विट्जरल्याण्डले पनि ६ अंक नै जोडे पनि इटली गोल अन्तरमा अघि छ । जेर्दान शाकिरीको दोस्रो मिनेटको गोलमा स्विट्जरल्याण्डले लिथुअनियालाई १-० ले पराजित गरेको छ ।

समूह जे मा जर्मनीले रोमानियाविरुद्ध १-० को कठिन जित हात पारेको छ । जर्मनीका लागी सर्जी नाब्रीले १७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लगातार दुई जितपछि ६ अंकसहित जर्मनी समूहको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस