भारतमा कोरोना संक्रमण भयावह : एकै दिन ६८ हजारभन्दा बढी संक्रमित, लकडाउन र रात्रिकालीन कर्फ्यु जारी

एजेन्सी

सोमबार, १६ चैत्र २०७७, १० : ३०
भारतमा कोरोना संक्रमण भयावह : एकै दिन ६८ हजारभन्दा बढी संक्रमित, लकडाउन र रात्रिकालीन कर्फ्यु जारी

file Photo

नयाँदिल्ली । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण पुनः  भयावह बन्न थालेको छ । संक्रमण तिब्र हुन थालेपछि भारतको विभिन्न राज्यहरूमा लकडाउन र रात्रिकालीन कर्फ्यु घोषणा गर्ने क्रम बढेको छ । आइतबार मात्र भारतमा ६८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ हजार २ सय ६६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार भारतमा १६८ दिनपछि सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो । योसहित कुल संक्रमितको संख्या करिब १ करोड २० लाख पुगेको छ । त्यसमध्ये १ करोड १३ लाखभन्दा बढी निको भइसकेका मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५ सय ५२ पुगेको छ ।

भाइरसका कारण सबैभन्दा बढी महाराष्ट्र प्रभावित देखिएको छ । केही दिनयता त्यहाँ संक्रमण तीव्र रूपमा फैलिइरहेको छ । महाराष्ट्रका ३६ जिल्लामध्ये २५ बढी प्रभावित छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म २४ करोड जनामा कोरोना परीक्षण गरिएकामा समग्रमा ५ प्रतिशतमा पोजिटिभ देखिएको थियो ।

तर, महाराष्ट्रमा भने २२.७८ प्रतिशतभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा गएको एक दिनमा करिब ४० हजार नयाँ संक्रमित थपिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो एक सातामा भारतभर थपिएका कुल संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी यिनै २५ जिल्लाका हुन् ।

महाराष्ट्र सरकारले संक्रमणको ग्राफ चिन्ताजनक ढंगले उकालो लाग्न थालेपछि अप्रिल १५ सम्मका लागि रात्रिकालीन निषेधाज्ञा बढाइएको छ । सपिङ मल, रेस्टुराँहरू राति ८ बजेपछि बन्द गराइएको छ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म बगैंचा र तटीय क्षेत्रमा जान रोक लगाइएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले परिस्थितिमा सुधार नआए लकडाउन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस