कोरोना जोखिम बढेपछि मलामी सङ्ख्या कम गर्न आग्रह

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, ०८ : ३१
कोरोना जोखिम बढेपछि मलामी सङ्ख्या कम गर्न आग्रह

दमौली । विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणको जोखिम पुनः वृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी सङ्ख्या कम गर्न आग्रह गरेको छ । समितिले सूचना निकालेर कोरोना सङ्क्रमण वृद्धि भएसँगै जनस्तरमा चासो र चिन्ता व्यक्त भएको भन्दै मलामी आउँदा सचेतना अपनाउन आग्रह गरेको हो । 

कोरोना सङ्क्रमणबाट बच्न र बचाउनका लागि न्यून सङ्ख्यामा २० देखि २५ जनासम्म मलामी आउन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए । “रोग लागिसकेपछिको चिन्ता र सतर्कताभन्दा त्यसपूर्व नागरिकको सचेत व्यवहारलाई उत्तम मानिन्छ”, उनले भने, “सनातन संस्कृतिका अनुयायीहरुको पावनभूमि देवघाटधाम पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा छ ।”

अनियन्त्रित सङ्ख्यामा मलामीको उपस्थिति र अनावश्यक घुमफिर, कोरोना महामारीमा कमी आएसँगै लयमा फर्कँदै गरेका होटल व्यवसाय र त्यहाँ रहने उपभोक्ता, अनावश्यकरूपमा हिँडडुल गर्ने समूह र देश बाहिरबाट आउने नागरिकबाट पनि देवघाटधाम कोरोनाको जोखिममा रहेको छ । न्यून सङ्ख्यामा मलामी आउन र मलामी अनावश्यक घुमफिर नगरी नुहाईधुवाई र चोखो शुद्ध भएर घर फर्कन समितिले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस