महन्थ र राजेन्द्रको काउन्टरमा बाबुराम र उपेन्द्र

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १६ : ४८
महन्थ र राजेन्द्रको काउन्टरमा बाबुराम र उपेन्द्र

काठमाडौं । जनता समाजवादी पार्टी केपी ओलीको सरकारमा जाने नजाने विषयमा चर्को मतभेद देखिएको छ । जसपामा दुई समूहबीच मतभेद छ । एउटा समूह ओली सरकारमा जाने इच्छा देखाएको छ भने अर्को समूह ओली इतरको समूहको गठबन्धन बनाउनुपर्नेमा जोड दिइरहेको छ । 

जसपाभित्र भएको यो रस्साकस्सी राजनीतिक वृत्तमा तरङ्ग ल्याइरहेको छ । जसपाले समर्थन गरे ओली सरकार टिक्ने नत्र ढल्ने अवस्था सिर्जना भएपछि ओली समूह जसपाको एक समूहलाई साथ लिएर फकाइरहेको छ ।  जसपाका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमतिका लागि भन्दै बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण  पुगेका हुन् ।

आफ्ना माग पूरा हुने अवस्था भए जसपाको महन्थ ठाकुर, राजेन्द्र महतोको समूह प्रधानमन्त्रीलाई समर्थन गर्ने पक्षमा देखिएका छन् भने डा बाबुराम भट्टराई उपेन्द्र यादवको समूह ओली सरकारलाई समर्थन नगर्ने र जसरी पनि ढाल्ने पक्षमा देखिएका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई सरकारमा टिकाउन महन्थ ठाकुर र राजेन्द्र महतोले सघाउने पक्षमा उभिएका छन् ।   तर आफूहरूले उठाएका मुद्दालाई कसरी मिलाएर जाने भन्नेमा जसपाले निर्णय लिन सकेको छैन ।  

जसपासँग प्रधानमन्त्री ओलीले सांसद रेशम चौधरीको विषयमा अदालती प्रक्रिया पुर्‍याएर छाड्ने गरी सहमति गर्ने सम्भावना बढेको छ । जसपाले उधारो सहमतिमा सरकारमा जना गाह्रो हुने भन्दै लिखित प्रतिबद्धता खोजेको छ । यस्तै उनीहरूले उठाउँदै आएको संविधान संशोधनका विषयमा पनि ओली सहमतिका लागि तयार भएका छन् । संशोधनको मुद्दा सरकारमा गएपछि गर्न सकिने प्रधानमन्त्रीको आश्वासन छ । 

जसपा अन्य नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराईसहित राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, राजकिशोर यादव तथा शरतसिंह भण्डारी सहितका नेताहरू कुनै हालतमा ओली सरकारलाई सघाउने पक्षमा छैनन् । उनीहरु ओली इतरका समूहसँग वार्तामा जुटिरहेका छन् । प्रधानमन्त्री ओलीसँगको वार्तामा जसपाका यी नेताहरु पुगेका पनि छैनन् । महन्थ ठाकुर र राजेन्द्र महतो पक्षघर नेताहरु ओली सरकारमा जान चाहन्छन् भने उपेन्द्र र बाबुराम पक्षका नेताहरु जान चाहँदैनन् । 
उपेन्द्र र बाबुरामसहितका नेताहरू  बालुवाटार बैठकलाई बहिष्कार गरेका छन्  । 
 

प्रतिक्रिया दिनुहोस