झुटो बयान दिने महिलालाई कैद सजाय

पत्रपत्रिकाबाट

सोमबार, ०९ चैत्र २०७७, ०७ : ५८
झुटो बयान दिने महिलालाई कैद सजाय

काठमाडौं । जबरजस्ती करणीको मुद्दा दर्ता गरी बयान परिवर्तन गर्ने एक महिलालाई जिल्ला अदालत बाँकेले कैद सजाय सुनाएको छ । जिल्ला अदालत बाँकेको फैसलापछि फरार रहेकी बाँकेको कोहलपुर नगरपालिका–७ की २५ वर्षीया महिलालाई पक्राउ गरी आइतबार जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

जिल्ला अदालतका न्यायधीश विष्णुप्रसाद कोइरालाको इजलासले ती महिलालाई २०७३ कात्तिक ७ गते १० दिन कैद र एक हजार रुपियाँ जरिवाना तोकेको जिल्ला अदालत बाँकेका तहसिलदार सन्तकुमार पौडेलले जानकारी दिए ।  महिलालाई नेपालगञ्ज उप–महानगरपालिका–१० बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 जिल्ला अदालत बाँकेका तहसिलदार पौडेलका अनुसार महिलाले कोहलपुरकै राना थरका युवकमाथि जबरजस्ती करणीको मुद्दा दायर गरेकी हुन्। महिलाले आफैँले दिएको जाहेरीको प्रतिकूल बयान दिएपछि अदालतले कैद र जरिवानाको सजाय सुनाएको छ, जिल्ला अदालत बाँकेका तहसिलदार पौडेलले भने, लामो समय फरार अभियुक्तलाई कारागार चलान भएको छ। महिलाको उजुरीपछि पक्राउ परी थुनामा परेका युवकपछि महिलाले फरक बयान (होस्टायल) दिएपछि रिहा भएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस