करिब ७६ अर्बकाे कारोबार लुकाएका महतो कर छली प्रकरणमा तानिंदै

बुधबार, १३ मंसिर २०७४, ०८ : २६
करिब ७६ अर्बकाे कारोबार लुकाएका महतो कर छली प्रकरणमा तानिंदै

काठमाडौं । एनसेलका नाममा भइरहेको कर छली प्रकरणमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो तानिने भएका छन् । १ खर्ब ४४ अर्ब रुपियाँबराबरमा एनसेल बेच्दा पुँजीगत लाभकर नतिरेको भन्दै स्वीडेनको टेलियासोनेराका नाममा ६२ अर्ब रुपियाँ कर निर्धारण भएको छ । त्यसैगरी २० प्रतिशत सेयर स्वामित्व रहेका निरजगोविन्द श्रेष्ठले आफ्नो नामको सेयर बेच्दा समेत त्यही कर छलेको भन्दै सरकारले पुनः कर निर्धारण गरेको छ । यी सबै प्रकरणमा कर छली हुनुमा महतोको हात रहेको पाइएपछि सरकारले उनलाई समेत तान्ने भएको हो ।,समाचार पत्रले लेखेको छ ।

महतोले आफ्नो नामको सेयर बेच्दा नै न्यून मूल्यांकन गरी पुँजीगत लाभकर छलेको विवरण सरकारले प्राप्त गरेको छ । विवरण अनुसार, महतो स्वामित्वको कजाखस्तानको डेल्टा ट्रेड नामको कम्पनीसमेतको सेयर टेलियाले किन्दा १ अर्ब १२ करोड रुपियाँ बराबरमा बेचेको देखाइएको छ । जबकि, टेलियाले सोही कारोबारमा ७८ अर्ब रुपियाँ खर्च देखाएको छ । महतोले बेच्दा १ अर्ब १२ अर्ब देखाएको र टेलियाले किन्दाचाहिँ ७८ अर्ब खर्च देखाउनुको खासियत स्पष्ट छ, पुँजीगत लाभकर छल्ने । ७६ अर्ब ८८ करोड रुपियाँको कारोबार उनले लुकाएका छन् । टेलिया र एक्जियटा मिलेर यो वास्तविक कारोबारको आँकडा बाहिर आउने भएपछि महतोको थाप्लोमा ठूलो रकम आइपर्ने निश्चित भएको छ । किनभने, अब महतोका नाममा कर निर्धारण हुँदा साँवा रकममा आजसम्मको ब्याज, जरिवाना सबै जोडिन्छ ।

पछिल्लोपल्ट १ खर्ब ४४ अर्ब रुपियाँमा भएको कारोबारको रकमलाई आधार मान्ने हो भने टेलियाले ६६ अर्ब रुपियाँको मात्र पुँजीगत लाभकरको हिसाब गरे पुग्ने भएको छ । एक्जियटाले यो विवादबाट सकेजति चाँडो उन्मुक्ति खोजिरहेको छ । किनभने, कर नतिरेका कारण एनसेलका नाममा एक्जियटा दुर्नाम भएको छ । त्यसैगरी स्वीडेनलाई भ्रष्टाचारमा शून्य सहनशीलताको देश मानिन्छ । त्यस्तो देशको कम्पनी टेलियासोनेरा अन्तर्राष्ट्रिय रुपमै बेज्जती भएपछि यो प्रकरण छिटो सुल्झाउन खोजिरहेको छ । नेपाल सरकारले स्वीडेन सरकारलाई पत्राचार गरेपछि टेलियामाथि झनै दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस