म्यानमारमा बीबीसीका समाचारदाता बेपत्ता

एजेन्सी

शुक्रबार, ०६ चैत्र २०७७, २० : ५८
म्यानमारमा बीबीसीका समाचारदाता बेपत्ता

एजेन्सी । सेनाले कु गरेको म्यानमारमा अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका समाचारदाता बेपत्ता भएका छन् । म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ । अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ ।

‘म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्’ बीबीसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ । म्यानमारको राजधानीबाट दिउसो नै उनी बेपत्ता भएको र उनको खोजीका लागि बीबीसीले सबै प्रयास गरिरहेको पनि जनाइएको छ । उनलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सवै सरोकारवालाहरूलाई आह्वान गरेको छ । 

बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका छन् । उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ ।  म्यानमारमा गत फेबु्रअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।