युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु, अमेरिकामा १० करोडले लगाए खोप

एजेन्सी

शुक्रबार, ०६ चैत्र २०७७, १५ : ०८
युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु, अमेरिकामा १० करोडले लगाए खोप

पेरिस । फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो ।

उता संयुक्तराज्य अमेरिकामा तोकिएको मितिअगावै १० करोड खोप दिने लक्ष्य पूरा गर्न लागेको अमेरिकी प्रशासनले जनाएको छ । राष्ट्रपति बाइडेनले खोपको उपलब्धता र वितरणमा कुनै समस्या आउन नदिने पटकपटक प्रतिबद्धता व्यक्त गरेका छन् ।

रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए । 

युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाई सार्वजनिक गरेलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले खोप अभियान शुरु गर्ने बताएका छन् ।

फ्रान्समा कोभिड–१९ को संक्रमण फैलिएसँगै शनिबार रातिदेखि एक महिने सीमित लकडाउन शुरु भएको छ । फ्रान्समा चार महिनायता एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएका थिए । 

पेरिसमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द हुनेछन् । यद्यपी, विद्यालयहरु भने खुला गरिने र घरबाट १० किलोमिटरसम्म मात्र यात्रा गर्न स्थानीयवासीलाई अनुमति दिइएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि अस्ट्राजेनिका खोपको सुरक्षा र प्रभावकारिताका बारेमा गरिरहेको अनुसन्धानको नतिजा शुक्रबार सार्वजनिक गर्दैछ ।

ढुवानी र भण्डारमा सहज तथा सस्तो मूल्यमा उपलब्ध हुने यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र स्वीडेनको औषधि निर्माता कम्पनी अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेका हुन् ।(रासस–एएफपी) 
 

प्रतिक्रिया दिनुहोस