अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण छैन : डब्लुएचओ

एजेन्सी

शुक्रबार, २८ फागुन २०७७, १९ : ४५
अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण छैन : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस विरुद्ध लगाइँदै आएको अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।  

कोरोनाभाइरस विरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शंका गर्नु अनावश्यक भएको संगठनले शुक्रबार स्पष्ट पारेको हो । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य संगठनले स्पष्ट पार्नु परेको हो । डब्लुएचओको खोप सुझाव समितिले हालै पनि अस्ट्राजेनिका खोप उपयोगी नै रहेको, कुनै हानिकारक नरहेको र कुनै खतरा नदेखिएकाले निशंकोच लगाउन सुझाव दिएको थियो ।

डेनमार्क, नर्वे, आइसल्याण्ड, इटली, रोमानियालगायतमा देशमा अहिले अस्ट्राजेनिका खोप लगाउने अभियान स्थगित गरिएको छ । “अस्ट्राजेनिका खोप एकदमै राम्रो खोप हो, अरु कतिपय खोप भन्दा यो गुणस्तरीय छ”, डब्लुएचओका प्रवक्ता मार्गरेट हरिसले भन्नुभयो । 

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले खोपको प्रयोग र परिणामसम्बन्धी विवरणहरुको आफूहरुले अध्ययन गरिरहेको जानकारी दिनुभयो । आफूहरुको अध्ययनमा खोपकै कारणले कसैको मृत्यु भएको पुष्टि नभएको पनि उहाँले पत्रकारलाई स्पष्ट पार्नुभयो ।

उहाँले खोपका बारेमा आफूहरुले अध्ययनलाई जारी गरेको तर खोप लगाउने अभियानलाई भने रोक्न आवश्यक नरहेकोमा जोड दिनुभयो । अरु स्वास्थ्य निकायले पनि अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।

गरिएको युरोपेली मुलुकको भनाइ छ । अस्ट्रेलिया, मेक्सिको र फिलिपिन्सले भने खोप अभियान जारी राख्ने जनाएका छन् । क्यानडाले खोपका कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिएको भन्ने बारेमा ठोस प्रमाण नभेटिएको जनाएको छ । 

अमेरिकामा अहिले खोप अभियान तीव्र रुपमा अघि बढेको छ । वैज्ञानिकहरुले कोभिडलाई परास्त गर्न खोप एक मात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । 

थाईल्यान्डको निर्णयसँगै प्रधानमन्त्री प्रयुत चान–ओ–चा ले आफूले खोप लगाउने कार्य एकाएक रोक्नुभएको छ । कोभिड–१९ खोप समितिका सल्लाहकार पियासाकोल साकोसतायाडोर्नले थाई नागरिकलाई खोप लगाउने कुरा सुरक्षित हुनुपर्ने बताउँदै खोप अभियान सञ्चालनमा हतार गर्न नहुने प्रतिक्रिया दिनुभएको छ ।

खोप अभियान राम्रोसँग सञ्चालन गर्न नसकेको युरोपले खोप अभियानलाई अझ बढावा दिन संघर्ष गर्नु परिरहेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकामाथि निरन्तर पर्याप्त आपूर्ति व्यवस्था मिलाउन दबाब दिइरहेको छ । युरोपको दबाब एवं खोपको प्रभावकारितामाथि आशंका फैलिएसँगै लन्डन स्टक एक्सचेन्जमा अस्ट्राजेनिकाको शेयरमूल्य २.५ प्रतिशतभन्दा बढीले घटेको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले केही मुलुकले कोभिड–१९ विरुद्धको खोप भण्डार गरेर समानुपातिक वितरणमा अवरोध गरिरहेको र केही मुलुकले खोपको राजनीति गरिरहेको आरोप लगाउनुभएको छ ।