प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

रासस

मंगलबार, २५ फागुन २०७७, १४ : ४३
प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

वालिङ । भिरकोट नगरपालिका–८ मा अवस्थित खिलुङ देउराली स्वास्थ्यचौकीले शुरुआत गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै गत असोजदेखि शुरु गरिएको सेवाले स्थानीयवासी औधि खुशी भएका हुन् ।  

सेवाअन्तर्गत सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी  दिइँदै आएको स्वास्थ्यचौकीका प्रमुख दीपेश नेपालीले जानकारी दिए।  “ग्रामीण भेगमा रहेका महिलालाई लक्ष गरी टेलिमेडिसिन सेवाको शुरुआत गरेका हौँ”, उनले भने , “अहिले यो सेवा निकै प्रभावकारी बन्दै गएको छ भने घरमै बसेर पनि सेवा लिन सक्ने अवस्था बनेकाले सहज भएको छ ।”

सेवाका लागि भिरकोट र आइपास नेपालबीच सम्झौता छ । नगरभित्र रहेका ५२ महिला स्वास्थ्य स्वयंसेविका र अनमीलाई अभिमुखीकरण गरेपश्चात्  गत असोज ६ गतेदेखि टेलिमेडिसिन सेवाबाट सुरक्षित गर्भपतन र परिवार नियोजन सेवाको शुरुआत गरिएको हो । 

“प्रत्येक वडाबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहने गरी १७ जनालाई छनोट ग¥यौँ”, उनले भने , “महिला स्वयंसेविकाहरुसँग गर्भ रहेका महिलाहरुले टेलिफोन, म्यासेन्जर, भाइबर, स्काइपलगायत माध्यमहरुको प्रयोगबाट कुराकानी गर्ने र अनिच्छित गर्भपतन गर्न चाहेमा सुरक्षित गर्भपतन गराउने व्यवस्था मिलाउने कार्य हुँदै आएको छ ।”
 

प्रतिक्रिया दिनुहोस