नगर विकाससँग सहकार्य गरिने छ: मुख्यमन्त्री भट्ट

रासस

सोमबार, १७ फागुन २०७७, १३ : ३५
नगर विकाससँग सहकार्य गरिने छ:  मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समग्र विकासका लागि नगर विकास कोषसँग सहकार्य र समझदारी गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन्  ।

नगर विकास कोषले आज धनगढीमा गरेको प्रदेशस्तरीय नगरपालिका वित्त तथा क्षमता विकाससम्बन्धी कार्यशालामा मुख्यमन्त्री भट्टले संविधानअनुसार सहकार्य, सहअस्तित्व र समझदारी अनुसार प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे । 

 विकासका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने ,‘‘विकास गर्ने नेपालको आफ्नो अलग्गै ढाँचा छैन, व्यक्तिव्यक्तिका ढाँचा छन्, यसले समग्र क्षेत्रको विकास हुन सक्दैन ।

वित्त आयोगको वितरण प्रणालीको नीतिले पनि विकास सम्भव नभएको भन्दै उनले काम गर्ने पुरानो सोच र शैलीमा परिवर्तन गरेर अघि बढ्नु पर्नेमा जोड दिए । 

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व स्वीकार गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगर विकास कोषले तीनै तहका सरकारबीच पुलको काम गरी शहरी क्षेत्रमा आधारभूत पूर्वाधार जुटाउन प्रभावकारी भूमिका खेल्न जरुरी रहेको बताए । 
 
कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बदलिँदो परिवेशमा अनुदानबाहेकको पर्याप्त स्रोत जुटाउन स्थानीय पालिकाबाट पहल हुनुपर्नेमा जोड दिँदै कोषले लगानी बढाउन र आन्तरिक स्रोत वृद्धि गर्नमा सहयोग गर्ने बताए।

कार्यशालामा नगर विकास कोषको दूरदृष्टि र चार वर्षे व्यावसायिक योजना, कोषको व्यवसाय प्रवद्र्धन तथा कार्य प्रक्रिया, सहलगानी तथा वैकल्पिक वित्तीय स्रोत परिचालन विधिलगायतका विषयमा प्रस्तुति र छलफल हुने जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस