इतिहासका कलंकित पात्र खड्ग ओली घर न घाटको अवस्थामा

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, १३ : २२
इतिहासका कलंकित पात्र खड्ग ओली घर न घाटको अवस्थामा

काठमाडौँ । प्रधानमन्त्री खड्ग ओली अब नेपाली राजनीतिक इतिहासमा एउटा कलंकित पात्रको रुपमा चित्रण भएका छन् । हुँदाखाँदाको जनमतमाथि कुठाराघात गरेर उनले जुन खालको व्यवहार देखाए, त्यसले अरुको होइन, उनकै राजनीतिक इतिहास माटोमा मिल्न पुगेको छ । 

खड्ग ओली कहिल्यै नेपाली जनताको पक्षमा उभिएनन् । राजनीतिमा उनी सधैँ अल्टरपात्रको रुपमा देखा परे । कहिल्यै आमहित नचाहने, एकांकी पात्रका रुपमा उनी परिचित भए । एकमनावाद उनको प्रिय भयो । भजनमण्डली नै उनको खास भयो । आलोचनात्मक चेत भएका राजनीतिक कार्यकर्ता, उनका लागि विष समान भए । पार्टी फरकफरक विचारको एकत्व हो भन्ने मान्यतामा उनी अडिएनन् । राजनीतिक संगठन विचारको आधारमा चल्छ, सामाजिक चरित्रले त्यसको निर्धारण गर्दछ भन्ने कुरालाई उनले स्वीकार नै गरेनन् । सोही कारण आज ओली घर न घाटको अवस्थामा पुगेका छन् । 

गत पुस ५ गते ओलीले जसरी प्रतिनिधिसभाको हत्या गर्ने षडयन्त्र गरे । त्यो उनको राजनीतिक इतिहासकै सबैभन्दा ठूलो भूल थियो । झण्डै दुईतिहाई जनमतमाथि उनले जुन खालको व्यवहार देखाए, त्यो उनको राजनीतिक अवसान नै थियो । मुखमा प्रजातन्त्र, राजनीतिमा वामपन्थी र कम्युनिस्ट भनिएका ओली ज्ञानेन्द्रको शैलीमा प्रस्तुत भए । 

काठमाडौंका सडकहरुमा गणतन्त्रको नारा लाग्दा, हजारौ जनता, नेता तथा कार्यकर्ता सेनाको तातो गोली खान तयार भएर संघर्षको मैदानमा उत्रिँदा ओली बालकोटको हवेलीमा बसेर भुटेको काजु खाँदै, ‘नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु एउटै हो’ भन्दै आन्दोलनकारीको खिसीटुयूरी गरिरहेका हुन्थे । 

उनको गुटमा सामेल रहेकी हालका राष्ट्रपतिको धार पनि ओलीको भन्दा फरक थिएन । प्रचण्डहरुले लडेर ल्याइदिएको गणतन्त्रको तर मार्ने काममा भने यतिबेला ओली र विद्याहरु देखा परे । जसले जनमतको अपमान गरे । जसले नेपाली जनताको चाहनामाथि कुठाराघात गरे । तर, सर्वोच्च अदालतले यही फागुन ११ गते भष्मासुर प्रवृत्तिको ओलीको अलोकतान्त्रिक गतिविधिलाई, ओलीको अन्धता, उनको निरंकुश चरित्रलाई खारेज गरिदिएको छ । ओलीको मनलाग्दी चरित्र र व्यवहारलाई साइजमा ल्याइदिएको छ । 

राजनीतिमा ओली प्रवृत्तिको पराजय भएको छ । ओली प्रवृत्तिको पराजय भनेको नै तानाशाही सोचको पराजय हो । जानकारहरु भन्छन् – ओली गिरोह नेपालमा आफ्ना विरोधी सखाप पारेर तानाशाही संयन्त्र खडा गर्न चाहन्थ्यो । पुस ५ गते गरिएको संसद विघटन त्यसैको पेरीफेरीमा थियो । त्यसको पराजय भएको छ ।

विकल्प राजीनामा
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएपछि ओली त सकएि नै । अब उनको सामु तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्ने भन्दा अरु कुनै विकल्प नै छैन । राजीनामा गर्न उनी तयार भएनन् भने, उनलाई अब नेकपा संसदीय दलको बैठक बोलाएर तत्काल वर्खास्त गर्नुपर्छ । यस्तै, प्रधानमन्त्रीको गलत कदमलाई सहीछाप गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महाअभियोग लगाउनु जरुरी रहेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

उनीहरु भन्छन्, बालुवाटारमा तयार भएको कुनै पनि गलत प्रस्ताव कति बेला आउला र सही गरिहालूँला भनेर बस्ने राष्ट्रपति भण्डारीको अपराधलाई पनि माफी दिन सकिँदैन र हुँदैन पनि । आज ओलीको ज्यादतीलाई सही धस्काउने राष्ट्रपतिले आगामी दिनमा पुनः गलत काम गर्दिनन् भन्ने कुनै ग्यारेन्टी छ र ? तत्काल ओलीलाई प्रधानमन्त्रीबाट बर्खास्त गरेर अगाडि जानु नै आजको सर्वोत्तम र सही विकल्प भएको विश्लेषकहरुको टिप्पणी छ । 

अब तत्काल नेकपाको बहुमत पक्षले संसदीय दलको बैठक बोलाएर ओलीलाई हटाइएको जानकारी संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालयलाई दिनु पर्दछ । जानकारहरुका अनुसार त्यसपछि राष्ट्रपतिविरुद्ध महाअभियोगका प्रस्ताव दर्ता गराएर पारित गर्नुपर्छ । किनकी नेपालको लोकतन्त्र र गणतन्त्रलाई योजनावद्ध तवरले सिध्याउन लागिपर्ने दुई प्रमुख पात्रको रुपमा ओली र भण्डारी देखा परेका छन् । 

विभिन्न लोभ, लालचमा ओली गुट र प्रवृत्ति तर्फ लागेको भनिएका एकाध सांसदलाई बोलाएर संसदीय दलमा बहुमत सिद्ध गर्न प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताले तत्काल पहलकदमी लिनुपर्छ । आउने जति आउँछन्, नआउनेलाई छाडेर अगाडि बढ्नु पर्छ । किनकी हरेक निकायमा अल्पमतमा रहेका ओलीलाई अब पनि बोक्नु, अब पनि उनीबाट नै आश गर्नु जरुरी छैन, आवश्यक पनि छैन । 

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १७४ जना त नेकपा सांसद मात्रै छन् । त्यसमा रहेकामध्ये एकाध मानिस ओलीको सति जान तयार भएपनि अधिकांश सांसद नेकपाको मूल नेतृत्वको वरीपरी नै गोलबन्द हुने भएकाले प्रधानमन्त्रीको खोजीमा अन्य दलको नेता तथा तिनका निवास धाउँदै हिँड्न समेत आवश्यक नभएको राजनीतिक जानकारहरुको भनाइ छ । ओलीको पक्षमा २० देखि ३० जना सांसद रहेको अवस्थामा पनि नेकपाको सरकार बन्ने अवस्था रहन्छ ।

प्रतिक्रिया दिनुहोस