पहिलो चरणमा कम मतदान, किन खस्यो कम मत ?

मंगलबार, १२ मंसिर २०७४, ०७ : २३
पहिलो चरणमा कम मतदान, किन खस्यो कम मत ?

आइतबार सम्पन्न पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन उत्साहप्रदरुपमा सम्पन्न भएको छ । मतदाताहरुले ४ वर्षपछि पुनः आफैले आफ्नो क्षेत्रको विकास गर्ने नेतालाई मताधिकार प्रयोग गरेर चयन गरेका छन् । तर, पहिलो चरणको निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा कम मतदान भएको छ । उल्लासपूर्ण रुपमा मतदाताहरुको सहभागिता भएपनि निर्वाचनमा खसेको मतको आधार मान्ने हो भने स्थानीय तह निर्वाचनमा ७० प्रतिशत मत खसेपनि यो निर्वाचनमा ६५ प्रतिशत मात्र मतदान हुनुले जनताप्रतिको दलहरुलाई लिएर देखिएको वितृष्णा छर्लङ्ग भएको छ ।

स्थानीय तहमा भन्दा कम मत खस्नुपछिको कारण खोज्दै राजनीतिक दलहरु दोश्रो चरणको निर्वाचनप्रति केन्द्रीत हुन थालेका छन् । खसेको मतको आधारमा नै पहिलो दल र उम्मेद्वारहरु छानिने भएपनि दलहरुलाई चिन्ता मतदाताहरुप्रति बढ्दो वितृष्णा नै रहेको देखिन्छ ।
किन खस्यो कम मत ?

सबै भन्दा पहिले ४ वर्षपछि भएको निर्वाचनले जनलहरमा उत्साह प्रष्ट देखिन्थ्यो । उम्मेद्वारहरु आफनो मताधिकार प्रयोग गर्न लालायित थिए नै । तर, आइतबार सम्पन्न निर्वाचनलाई विश्लेषण गर्ने हो भने सुरक्षा चुनौती, मतदाता शिक्षा, मौषम नै प्रमुख कारण मान्न सकिन्छ, मत कम खस्नुमा । विप्लव नेतृत्वको नेकपाले ठाउँठाउँमा गरेको आक्रमण सुरक्षा चुनौतीका रुपमा देखा प¥यो । सरकारको सुरक्षा रणनीति फितलो हुनुले मतदाताहरु एक मतका लागि आफनो जिउ नै धरापमा राख्न नसक्ने भएपछि मतदान गर्न नजानु । अझ अहिलेको निर्वाचनमा तीन फरक–फरक मतको प्रयोग हुनु र त्यो झन्झटिलो मानिनु पनि एउटा कारण रहेको निष्कर्ष निकाल्न सकिन्छ । यस्तै हिमाली र उच्च पहाडी जिल्लाहरुमा चिसो बढ्दै जानु पनि एउटा कारण मान्न सकिन्छ ।

त्यतिमात्र नभई वैशाख, असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा सहभागी हुन घर पुगेका मतदाताहरु त्यसलगत्तैको चाडपर्वमा समेत आफनो गाउँ ठाउँ पुगेपछि पुनः मतदान गर्न घरगाउँ पुग्नुपर्ने बाध्यताले समेत मतदाताहरु आफनो मताधिकार प्रयोग गर्न पुगेनन् र मत कम खसेको विश्लेषण राजनीतिक वृतमा भइरहेको छ । साथसाथै राजनीतिक दलहरुप्रतिको कुण्ठा र विकास नभएका क्रोधका कारण धेरै मतदाताहरुले यसपटक मत नहाल्ने निधो समेत गरेको देखिन्छ । आइतबार सोलुखुम्बुको तिङ्गलाका मतदाताहरु मतदान गर्नै गएनन् जसलाई यसैको एउटा पाटो देख्न सकिन्छ । त्यसैले दोश्रो चरणको निर्वाचन आउन १० दिन बाँकी हुँदा सरकारले सुरक्षा, राजनीतिक दलहरुले मतदाताको विश्वास जितेर निर्वाचनमा होमिए पहिलो चरणको मतको प्रतिशत दोश्रो चरणमा भने बढ्ने आंकलन गर्न सकिन्छ ।

मत खस्नुका कारण :
सुरक्षा चुनौती
मतदाता शिक्षामा कमी
मौसम
मतदाताहरुको दलप्रति बढ्दो वितृष्णा

१.सुरक्षा चुनौती :
विप्लव नेतृत्वको नेकपाले ठाउँठाउँमा गरेको आक्रमण
मतदाताहरुमा उत्पन्न त्रास
सरकारको फितलो सुरक्षा रणनीति

२. मतदाता शिक्षामा कमी  :
३ वटा मतपत्र र झण्झट
समयमा मतदाता शिक्षा सबैले नपाउनु

३. मौसम प्रतिकुल :
हिमाली जिल्ला र उच्च पहाडी भेगमा चिसो बढ्नुले मतदाताहरुको सहभागितामा कमी

४. मतदाताहरुको दलप्रति बढ्दो वितृष्णा :
गाउँ ठाउँको विकास नहुनुले आजित भएका मतदाताहरु

प्रतिक्रिया दिनुहोस