सुरक्षामा चुनौतीका चाङ : यी हुन् चुनौती

मंगलबार, १२ मंसिर २०७४, ०७ : १९
सुरक्षामा चुनौतीका चाङ : यी हुन् चुनौती

पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनाव छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि दोस्रो चरण चुनाव बढी संवेदनशील र चुनौतीपूर्ण हुने निष्कर्ष सुरक्षा निकायले निकालेका छन् । मंसिर २१ गते सात प्रदेशका बाँकी ४५ जिल्लामा चुनाव हुँदै छ ।
पहिलो चरणको चुनावी तयारी गरिरहेकै बेला ४० भन्दा बढी स्थानमा बम विस्फोट भयो भने सयभन्दा बढी स्थानबाट विस्फोटक पदार्थ बरामद भयो । निर्वाचन बिथोल्न खोज्नेहरू पाँच सयभन्दा बढीको संख्यामा पक्राउ परे ।

पहिलो चरणको चुनावमा सरकारले चुनावी सुरक्षा चुनौतीका रूपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई मात्रै औंल्याएको थियो । तर दोस्रो चरणमा विप्लवसँगै तराईका सशस्त्र समूह, सीके राउत, भोट खरिदबिक्री, सीमामा लुकेर बसेका आपराधिक समूह, खुला सिमानाका कारण हतियार तथा विस्फोटक पदार्थ सजिलै भित्रन सक्नेलगायत चुनौती थपिने आकलन गरिएको छ ।

दोस्रो चरणमा खासगरी प्रदेश २ लाई बढी संवेदनशील र सुरक्षा दृष्टिकोणले पनि चुनौतीपूर्ण मानिएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा विप्लवसँगै सशस्त्र समूह (जयकृण गोइतलगायत) को सक्रियता, दलीय प्रतिस्पर्धाले ल्याउने झगडालगायत चुनौती प्रहरी मुख्यालयले औंल्याएको छ ।

दोस्रो चरणमा खासगरी प्रदेश नम्बर २ लाई बढी संवेदनशील र सुरक्षा दृष्टिकोणले पनि चुनौतीपूर्ण मानिएको छ ।
पहिलो चरणको तुलनामा दोस्रोमा सुरक्षाकर्मी बढी खटिए पनि मतदाता संख्या, मतदानस्थल, जनघनत्व र क्षेत्रफलको हिसाबले सुरक्षाकर्मी परिचालनको अनुपात कम हुने देखिन्छ । स्थानीय प्रहरी गस्ती र मतदानस्थलको सुरक्षामै बढी केन्द्रित हुनुपर्ने भएपछि लुटपाट, चोरी, डकैती र तस्करीजस्ता घटना मौलाउन सक्ने आकलन गरिएको छ । विस्फोटक पदार्थ पनि पहाडमा भन्दा बढी तराईमै बरामद भएको देखिन्छ ।
प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने, ‘पहिलोको चरण चुनाव शान्तिपूर्ण भएकाले चुनाव बिथोल्ने समूहले उपस्थिति देखाउन हदैसम्मको गतिविधि अपनाउन सक्छन्, सुरक्षा निकाय सबै चुनौतीको विश्लेषण गरेर अगाडि बढिरहेको छ ।’ ठूला दलका शीर्ष नेता दोस्रो चरणमै उम्मेदवार भएकाले उनीहरूको सुरक्षामा पनि सुरक्षाकर्मी उत्तिकै परिचालन गर्नुपर्ने अवस्थाका कारण चुनौती थपिएको विश्लेषण मुख्यालयको छ ।

प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन र काभ्रेमा पनि विप्लवका कार्यकर्ताको बढी पकड रहेको प्रहरीको बुझाइ छ । प्रदेश ६ का सल्यान, सुर्खेत र दैलेखमा पनि विप्लव समूहको प्रभाव छ । प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी पहाडी जिल्ला भएकाले प्रहरीको पहुँच कम हुने भएपछि मतपेटिका र उम्मेदवार सुरक्षालाई गम्भीरतापूर्वक हेरिएको छ । प्रदेश ५ का दाङमै विप्लवका बढी कार्यकर्ता पक्राउ परेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले पहिलाको जस्तो भौगोलिक विकटता दोस्रो चरणमा नहुने देखिएकाले प्रहरी परिचालनमा खासै समस्या नहुने बताए । उनले भने, ‘चुनाव बिथोल्ने समूह सक्रिय होलान् तर राज्यले पनि सोहीअनुसार सुरक्षाकर्मी परिचालनसँगै त्यस्ता समूहलाई पक्राउ र विस्फोटक पदार्थ बरामद गर्दै आएको छ । चुनाव शान्तिपूर्ण र भयरहित ढंगबाट सम्पन्न गर्न मन्त्रालय दृढ छ ।’
उनले संवेदनशील जिल्लाको आधारमा सुरक्षाकर्मीको अनुपात बढाएर सीमामा कडाइका साथ चेक पोइन्ट राखी आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी खटिसकेको को खबर आजको अन्नपूर्णपोष्टमा छापिएको छ ।

यी हुन् चुनौती
– नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता
– खुला सिमाना
– विस्फोटक पदार्थ सजिलै भित्रन सक्ने
– मधेसमा विद्यमान सुरक्षा संवेदनशीलता
– भोट खरिद-बिक्री
– आपराधिक समूहको सक्रियता

प्रतिक्रिया दिनुहोस