रामबहादुर थापा बादल अर्थात् क्रान्तिको नाममा धोका दिएर हिँडेका पात्र

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, ११ : ५९
रामबहादुर थापा बादल अर्थात् क्रान्तिको नाममा धोका दिएर हिँडेका पात्र

file photo

काठमाडौँ । ओलीहरुले ठूलो भाग दिन्छन् र खाउँला भन्दै सहयोद्धा छाडेर हिँडेका रामबहादुर थापा बादल विगतमा क्रान्तिको नाममा धोका दिएर हिँडेका पात्र र प्रवृत्ति हुन् । जनयुद्धकालमा लिनप्यायोवादी प्रवृत्ति राखेका कारण कारवाहीमा परेका उनले कहिल्यै इमान्दार प्रयास गरेनन् । 

जनयुद्धकालमा पनि सधै आत्मसुरक्षावादी चिन्तनले ग्रस्त भएका उनी कहिल्यै प्रत्यक्ष मोर्चामा सहभागी भएनन् । सधै मूल नेतृत्वसँग बार्गेनिङ गर्ने उनको स्वभाव क्रान्तिकारी छँदै थिएन भन्दा पनि हुन्छ । प्रचण्डसँग बाल्यकालको सहयात्रीको नाम दिएर सौदाबाजी गरेका बादलकै कारण तत्कालीन नेकपा (माओवादी) नेतृत्वको सरकार कटुवाल प्रकरणमा अपदस्त भएको थियो । 

चर्को क्रान्तिकारी बन्दा झण्डै बहुमतको सरकार छाडेर माओवादी प्रतिपक्षमा रहनु परेको थियो । बादलकै कारण तत्कालीन सरकारले रुक्माङगद कटुवाललाई कारवाही गर्नुपरेको तथ्य जगजाहेर नै छ । कटुवाल प्रकरण मात्रै नभएको भए नेपालले संविधान निर्माणका लागि झण्डै एक दशक लगाउनुपर्ने थिएन । देशको मोटो धनराशी खर्च गरेर दुईदुई पटक संविधानसभाको निर्वाचन गराउनुपर्ने पनि थिएन । 

पछिल्लो पटक उनै बादलले प्रचण्डलाई अनेकन आरोप लगाएर क्रान्तिको नाममा पार्टी तहसनसह बनाएर हिँडे । पछिल्लो पटक जब पद प्राप्त गर्ने अवस्था आउन थाल्यो, उनी दौडिएर आए । अनि भने, लौ कमरेड अब मिलेर जानुपर्ने भयो । अवसरवादी चरित्र देखाउन सिपालु मानिएका उनले कुनै मेहनत नै नगरी राष्ट्रियसभा सदस्य पड्काए । 

पार्टीभित्र मन्त्री बन्न काविल र गृह मन्त्रालय सम्हाल्ने क्षमता भएका धेरै नेता थिए । तर, राष्ट्रियसभाको सदस्यको शपथ खाएको एकाध मिनेट पनि नबित्दै उनलाई मन्त्री हुने ग्रन्थीले काम ग¥यो । मन्त्री पदको स्वाद पाएका उनले जसरी पनि आफू मन्त्री हुने भन्दै प्रचण्डसँग पुनः अवसरवादी चरित्र देखाए । प्रचण्डले पनि लौ गरिखाऊ भन्दै सहमति जनाए । 

पार्टीभित्र दुई लाइन संघर्ष हुँदा होस् वा अप्ठ्यारो परेको बेलामा कहिल्यै सहयोग नगर्ने, स्पष्ट मत नराख्ने, तर सधैँ पद भने चाहिने उनको स्वभाव सडकमा छरपष्ट भएकै हो । ‘राजनीतिक रुपमा कुनै पनि मूल्य नभएका, पिँध नभएको लोटाजस्तो चरित्रका मान्छे हुन् बादल’ उनलाई नजिबाट नियालेका  पूर्वमाओवादीका एक नेताले भन्छन्, ‘अप्ठ्यारो बेलामा कहिल्यै साथ र सहयोग नगर्ने, सधै पद मात्रै चाहिने, शक्ति र पहुँचबिना बस्न नसक्ने तथा दिएको जिम्मेवारी समेत निभाउन नसक्ने प्रवृत्ति बादलमा देखिन्छ ।’

पछिल्लो पटक ओलीले संसद विघटन गरेपछि गृहमन्त्री पद छाड्नुपर्ला भन्ने भय उनमा देखियो । गृहमन्त्रालयको खासखास कामहरु नाममा उपप्रधानमन्त्री भएपनि व्यवहारमा राज्यमन्त्रीको हैसियतमा रहेका ईश्वर पोखरेलले सम्हाले पनि उनलाई खासै मतलब छैन । आफ्नो मन्त्रालयको काम बाहिरैबाट हुँदा पनि उनलाई नैतिकता भन्ने कुराले छुँदैन । 

प्रहरी कर्मचारीको बढुवाको फाइल बाहिरबाट बन्छ, ओलीले सबै निर्णय गर्छन्, उनलाई थाहा छैन र हुँदैन । तर, पनि उनलाई पद चाहिन्छ । नेपाली संस्करणका लिनप्याओवाद भनेकै यही हो, बादलको संगतमा रहेका अर्का एक नेता भन्छन्, ‘काम गर्नु नपर्ने, पद मात्रै ओगटेर बस्ने स्वभावका नेता हुन् बादल । जसलाई केवल पद भए हुन्छ । पद नदिनेलाई उनी चिडियाखानामा लगेर थुन्छु समेत भन्न मन पराउँछन् ।’

पछिल्लो पटक राजधानी काठमाडौंमा ओली गुटले आयोजना गरेको पञ्चसभामा रामबहादुरले आन्दोलनकारी विरुद्ध असाध्यै निच व्यवहार देखाए । उनले आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर थुन्ने धम्की दिए । जसको हातमा प्रहरी प्रशासन छैन, जसको हातमा अनुसन्धान विभाग छैन, उसैले आन्दोलनकारीलाई थुन्ने धम्की दिए । जसको आफ्नो केही छैन, उसले ठूला कुरा नगरेकै बेश हुने जानकारहरुको भनाइ छ । 

प्रहरी, अनुसन्धान विभाग सबै ओलीको हातामा अथवा खास गृहमन्त्री भनिने गृहसचिव महेश्वर न्यौपानेले भने अनुसार चल्छ । रामबहादुर नाम मात्रका मन्त्री हुन् । केवल उनलाई मन्त्री भनाउनु न परेको छ । त्यो पनि कति समयलाई हो ? कुनै ग्यारेन्टी छैन । 

गन्न छाडे ओलीले
ओलीलाई बोकेर हिँड्न तयार भएका बादललाई ओलीले गन्न छाडेका छन् । युवा संघको गुट छनौटमा समेत उनको कुनै हैसियत देखिएन । सुकुम्बासी समस्या समाधान आयोगमा पनि उनले भाग पाएनन् । राजनीतिक नियुक्ति, सरुवा बढुवा सबै ओली र उनको गिरोहले गर्छ । बादल हेरेको हे¥यै हुन्छन् । 

महत्वपूर्ण काम गर्ने बेला आउँछ, निर्णय सबै बालुवाटारले गर्छ । उनी मन्त्रालयमा हुन्छन्, निर्णय भएको कुरा पत्रिकामा आएपछि उनले थाहा पाउँछन् । यस्तै यस्तै हुन थालेपछि पछिल्लो पटक उनै बादल अब घरको न घाटको हुन लागियो भनेर चिन्तित देखिएका छन् । पटकपटक प्रचण्डलाई धोका दिएका कारण फेरि कुन मुखले मलाई पनि राख, समेट भन्न जाने ? नजाउँ भने अब ओलीले बसीखप्न नदिने भए भन्ने निष्कर्षमा उनी पुगेका छन् ।

उनले आजकल आफना सचिवालयका केही सहयोगीसँग ओलीसँग अब सकिँदैन भनेर गुनासो गर्न थालेका छन् । भाषणमा तेस्रो जनआन्दोलन शुरु भएको बताउने उनी अब प्रचण्ड, माधवकुमार नेपालसँग कुरा मिलाएर पनि फर्कनु पो पर्छ कि भन्ने स्थानमा आइपुगेका छन् । उनको साथमा सल्लाहकारको पगरी गुथेर बसेका इन्द्रजीत राई मात्रै बाँकी छन् । उनले पनि कुन दिन साथ छाडेर हिँड्ने हुन् ? त्यसको कुनै ठेगान छैन । 

गृह मन्त्रालयमा डोरी उपनामका राईको भूमिका समेत शंकास्पद देखिएको जानकारहरुको भनाइ छ । सचिवालयमा रहेका भनिएकाहरु समेत पछिल्ला दिनमा कमाऊ धन्दामा लागेको बताउनेहरु पनि कम छैनन् । छोराको कार्यशैली पनि त्यस्तै छ । जसरी हुन्छ, गृह मन्त्रालयको नाम भजाएर पैसा कमाउने ध्याउन्नमा थापा पुत्र लागेका छन् । 

ओलीले गन्न छाडेपछि उनले पछिल्ला दिनमा पूर्व माओवादीको नाममा ओलीको गुटमा समावेश भएका टोपबहादुर रायमाझीसँग पनि गुनासो गरेका छन् । नयाँ जोगीले धेरै खरानी घस्छ भने जस्तै टोपबहादुर पनि नेकपाको मूल नेतृत्वविरुद्ध अवाञ्छित आरोप लगाएर पानीमाथिको ओभानो बनिरहेका छन् । बादल पछिल्लो पटक ओलीले नगनेको भन्दै गुनासो लिएर टोपबहादुरलाई भेट्न गएका थिए । उनले पूर्वमाओवादीको स्वर एउटै हुनुपर्ने बताएका थिए । 

चौटाखान गएकी बुढी झोलमा डुबेर मरी भन्ने नेपाली उखानले भने जस्तै, ठूलो भाग खोज्दै गएका टोपबहादुर र रामबहादुरहरु अब छिट्टै ओलीको गुट परित्याग गर्ने उपायको खोजीमा रहेका छन् । तर, अवरसरवादीलाई नेकपाको मूल पार्टीमा ठाँउ दिने वा नदिने भन्नेबारेमा नेकपाले भने केही बताएको छैन । 

प्रतिक्रिया दिनुहोस