वीपी प्रतिष्ठानका उपकुलपति तथा रेक्टरको कक्षमा लागेको ताला खुल्यो

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, ०७ : १४
वीपी प्रतिष्ठानका उपकुलपति तथा रेक्टरको कक्षमा लागेको ताला खुल्यो

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सा तथा दन्तचिकित्स शिक्षण कल्याण समाजले उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरी तथा शिक्षाध्यक्ष प्रा डा गुरू प्रसाद खनालको कार्यकक्षमा लगाएको ताला खोलिएको छ ।

आइतबार समाजका साथ प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मी तथा अस्पताल निर्देशक प्रा डा गौरी शंकर साह गरी चारै पदाधिकारीहरू बिच भएको वार्तामा सहमति भएपछि समाजले ताला खोलेको हो । 

वार्ताबाट फ्याक्ल्टीहरुको बढुवा सम्बन्धमा एक महिना भित्र प्रमोशनको विज्ञापन प्रकाशित गर्ने सहमति कायम भएको छ । यस्तै, जोखिम भत्ता फाल्गुन १४ गतेभित्र वितरण गर्न सुरु गर्ने र अन्य मागहरुका सम्बन्धमा एक हप्ता भित्र तार्किक निष्कर्षमा पुग्ने गरी कार्य गर्ने समेत सहमति भएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा गिरी तथा शिक्षाध्यक्ष प्रा। डा। खनाल प्रतिष्ठानका चिकित्सकहरूको बढुवा प्रक्रिया लगायत अन्य कार्यको लागी काठमाण्डौ पुगेका थिए । उपकुलपति गिरी काठमाण्डौमा नै भएको बेला मन्त्रालयलयमा सबै कार्यहरू सकारात्मक भइरहेको बताउँदै समाजलाई ताला नलगाउन आग्रह गर्दा समेत पूर्वनिर्धारीत कार्यक्रम बताउँदै समाजले गत बुधबार उपकुलपतिको कक्षमा ताला लगाएका थिए । 

वार्तामा सहमती भएपछि हाललाई आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरीएको समाजका अध्यक्ष डा विष्णु पोखरेलले जानकारी गराए । अन्य मागहरू एक सातामा पूरा गर्ने सहमती भएपछि काम गर्नका लागी उर्जा मिलेको उनले बताए । 

सहमति पत्रमा प्रतिष्ठानका चारैजना पदाधिकारीले हस्ताक्षर गरेका थिए भने समाजका तर्फबाट अध्यक्ष सहित महासचिव सूर्य प्रसाद रिमाल, सहसचिव सन्दिप साह, कोषाध्यक्ष अन्जनि कुमार यादव, सदस्य मनोज भट्टराई, निर्मलप्रसाद साह र लक्ष्मण खनालले हस्ताक्षर गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस