खोटाङ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौँलाई नजिक बनाएको बताएका छन्। विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आएको अवसरमा बुधबार दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकै दिनमा काठमाडौँ आउजाउ गर्ने वातावरण बनेको बताए ।
उपाध्यक्ष प्रा डा कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिलाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । उनले जिल्लामा सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जिल्लावासीको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्रीको पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–खचेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्नेगरी काम भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ माघ २०७७, ०९ : १०
लेखकबाट थप