खर्चिलो बन्दै आन्दोलन र समर्थन

रासस

विहीबार, २९ माघ २०७७, ०८ : ३७
खर्चिलो बन्दै आन्दोलन र समर्थन

चितवन  । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि ठूलो खर्च हुने गरेको छ ।
 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षधर, प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले जिल्ला, प्रदेश र केन्द्रस्तरका विरोध र समर्थनका कार्यक्रम गरिरहेका छन् ।ती कार्यक्रममा टाढाटाढाबाट कार्यकर्ता ओसार्न, स्टेज तयार गर्न, झण्डा बनाउन, माइक, पानी, स्टेशनरी, खाना, प्रचारप्रसारलगायतमा ठूलो खर्च हुने गरेको छ ।
 
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बुधबार काठमाडौँमा भएको विरोधसभामा २०० वटा ठूला बस र ठूलै सङ्ख्याका साना गाडीमा कार्यकर्ता गएको बताए । यसअघि माघ ९ गते ८० वटा बस र पुस १४ गते ४९ वटा बस कार्यकर्ता बोकेर काठमाडौँ गएको  भनाइ छ । यी कार्यक्रममा साना गाडी पनि ठूलो सङ्ख्यामा गएका थिए । 

एउटा बसले चितवनदेखि काठमाडौँसम्म जाँदा आउँदा रु २५ हजार हाराहारी भाडा लिने गर्दछन् । नेता कार्यकर्तालाई बाटोमा खाजा, खाना, पानी पनि ठूलै खर्च हुने गर्दछ । यस्तै झण्डा र ब्यानरमा पनि खर्च हुने गरेको छ । परियारले पार्टीभित्रकै नेता कार्यकर्ताबाट आर्थिक सङ्कलन गरेर खर्च जुटाउने गरेको बताए । उनका अनुसार कतिपय कार्यकर्ता आफैँले खर्चको व्यवस्थापन गर्ने गरेका छन् ।

 नेकपा ओली पक्षले जिल्लामा माघ १७ गते प्रधानमन्त्री ओलीको उपस्थितिमा जनसभा आयोजना गर्यो । सो सभामा १०० हाराहारी बसले जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता ओसारेका थिए । सोही पक्षले माघ २३ गते काठमाडौँमा यहाँबाट ठूलो सङ्ख्यामा कार्यकर्ता लगेको थियो । जिल्लाका सात पालिकामा ९८ वटा वडा छन् । ती सबै वडाबाट धेरथोर कार्यकर्ता सभामा गएका थिए । 

पण्डितका अनुसार एउटा बसलाई रु २१ हजारका दरले आवतजावत भाडा बुझाइएको थियो । कार्यकर्ता कतिपयले आफ्नै खर्चमा खाजा खाना खाए पनि केहीलाई भने खाना खाजाको व्यवस्था गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस