म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी

एजेन्सी

बुधबार, २८ माघ २०७७, १६ : ३४
म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी

म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्।यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ  ।

प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू प्राप्त भएका छन । तर  कसैको मृत्यु भएको छैन। बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको र राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन । 

यसैबीच म्यान्मारको सेनाले नेत्री आङ सान सुकीको पार्टी नेसनल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको उक्त दलले दाबी गरेको छ । मङ्गलवार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोका फोरेर भित्र छिरेर तहसनहस गरेको  जानकारी दिइएको छ ।  

पार्टीको कार्यालय तहसनहस पारिदिएको यस अवस्थामा कोही कार्यकर्ता भने नभएका जनाइएको छ । सेनाले जारी गरेको रात्रिकालीन कफ्र्यूका बेला छापा मारेको  बताइएको छ ।[रासस ,सिन्ह्वा ]

प्रतिक्रिया दिनुहोस