चितवन । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो ।
चालू आर्थिक वर्ष शुरु भएयता निकुञ्जमा चोरी शिकारीबाट मारिएका चार गैँडा फेला परेका थिए । यस लगत्तै निकुञ्ज प्रशासन, सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कावासोती नगरपालिका–७ का ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै पक्राउ गरिएको थियो । भरतपुर महानगरपालिका–२८ स्यालबासका ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमाल र निजको श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोरमाराबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
बाँकेको सोनारीका ३५ वर्षीय हरिप्रसाद थारु र निजकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरु बसोबास गरेको नवलपुरको गैँडाकोट नगरपालिका–१ ईट्टाभट्टाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै गैँडाकोट वडा नं १ का ३२ वर्षीय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको बयानको आधारमा अन्य सातजना संलग्न भएको बुझिएको र उनीहरुको खोजीकार्य भइरहेको बरालले जानकारी दिए ।
यसैगरी अनुसन्धानको क्रममा गैँडा मारी खाग चोरी शिकार भएका विगतका अन्य घटनासमेत खुल्न आएका छन् । विगतका घटनामा संलग्न भएको अभियोगमा जिल्लाको कालिका नगरपालिका–९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका– ७ नयाँ बजारका कैलाशबाबु आलेलाई गोरखा बजारबाट पक्राउ गरिएको छ । सोही गिरोहका लमजुङ बँेशीसहर नगरपालिका–१० बस्ने ३२ वर्षीय सोमबहादुर गुरुङलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ माघ २०७७, १५ : ४७
लेखकबाट थप