दर्ता नवीकरणमा आएनन् स्वास्थ्य संस्था

रासस

बुधबार, २८ माघ २०७७, १५ : १२
दर्ता नवीकरणमा आएनन् स्वास्थ्य संस्था

चितवन । स्वास्थ्य कार्यालयले निजी स्वास्थ्य संस्था अद्यावधिक गरी नवीकरण गर्न सूचना प्रकाशित गरेको भए पनि न्यून मात्रै संस्था सम्पर्कमा आएका छन् । एकिन तथ्याङ्क नभए पनि धेरै संस्था दर्ता नवीकरणका लागि सम्पर्कमा आएका छैनन् ।
 
जनस्वास्थ्य नियमावली २०७७ ले तीन तहलाई स्वास्थ्य संस्थाको दर्ता, नवीकरण र अनुगमनको जिम्मेवारी दिएको छ । सोअनुसार २५ देखि २०० सय सम्मका जनरल तथा विशेषज्ञ अस्पताल, २५ देखि ५० श्ययासम्मका आयुर्वेदिक अस्पताल, डेण्टल क्लिनिक, विशेषज्ञ क्लिनिक, पोलिक्लिनिक, आँखा उपचार केन्द्र, सि वर्गको प्रयोगशाला, ख श्रेणीको रेडियो इमेजिङ सेन्टर, २५ श्ययासम्मको डाइलासिस केन्द्र, २५ श्ययासम्मको पुनःस्थापना केन्द्र, हस्पिस सेन्टर प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकायबाट ईजाजत लिनु र नवीकरण गर्नुपर्ने हुन्छ । त्यस भन्दामाथि क्षमताका स्वास्थ्य संस्थाको ईजाजत र नवीकरण सङ्घीय सरकारले गर्ने व्यवस्था छ ।

यस्तै स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, सोवारिग्पा ९आम्ची० क्लिनिक, होमियोप्याथी क्लिनिक र यस्तै प्रकारका अन्य क्लिनिकको दर्ता नवीकरणको जिम्मा पालिकालाई दिइएको छ । यसैगरी फिजियोथेरापी, पुनःस्थापना, प्राकृतिक उपचार, अक्युपञ्चर, अक्युप्रेसर, युनानी, योग ध्यान तथा शारीरिक व्यायाम, परम्परागत सेवा क्लिनिक र यस्तै प्रकार अन्य सेवा केन्द्र, जोरियाट्रिक परामर्श केन्द्र, डि र ई वर्गका प्रयोगशाला, १५ श्ययासम्मको जनरल अस्पताल पालिकाअन्तर्गत दर्ता नवीकरण र अनुगमन हुने व्यवस्था रहेको छ ।
 
यही जिम्मेवारीअनुसार स्वास्थ्य कार्यालयले गत पुस २१ गते ३५ दिने सूचना प्रकाशित गरेको थियो । यस कार्यालय प्रदेश सरकारअन्तर्गत पर्दछ । प्रदेश स्वास्थ्य सेवा नियमावली २०७६ ले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयलाई प्रदेशको अधिकारसमेत बाँडफाँड गरेको छ । स्वास्थ्य कार्यालयले आफूले हेर्नुपर्ने २५ श्ययासम्मको जनरल अस्पताल, आँखा उपचार केन्द्र वा अस्पताल, पोलिक्लिनिक, विशेषज्ञ क्लिनिक, डेण्टल क्लिनिक, सि वर्गका प्रयोगशालालाई दर्ता र नवीकरणका लागि निवेदन आह्वान गरेकामा न्यून मात्रै परेका हुन् ।

प्रतिक्रिया दिनुहोस