सान्नी त्रिवेणीले ल्यायो अनिवार्य स्वास्थ्य बीमा योजना

रासस

बुधबार, २८ माघ २०७७, १४ : ४०
सान्नी त्रिवेणीले ल्यायो अनिवार्य स्वास्थ्य बीमा योजना

कालीकोट । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना लागू गर्ने भएको छ । गाउँपालिकाका नागरिकलाई स्वस्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा योजना लागू गरेको हो । 

नेपालको संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले गाउँपालिकाको स्वास्थ्य बीमा योजना लागू गरेको गाउँपालिकाले जनाएको छ । मानव जीवनका लागि स्वास्थ्य नै पहिलो प्राथमिकताको विषय भएका कारण नागरिकको उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भनेर नै गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना ल्याएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

बीमा योजनामा गाउँपालिका वडा नं १ देखि ९ सम्मका कर्मचारी र जनप्रतिनिधिबाहेक मध्यम गरीब र सामान्य गरीब परिवारका पाँचजना सदस्यको बीमा रकम रु तीन हजार ५०० का दरले गाउँपालिकाले नै स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी गरिदिने गाउँपालिका स्वास्थ्य शाखाप्रमुख मीनबहादुर बिष्टले जानकारी दिए ।

“एकै घरका पाँचभन्दा बढी सदस्यको हकमा परिवार स्वयंले बीमा रकम तिर्नुपर्ने व्यवस्था गर्नुपर्नेछ”, उनले भने , “गरीब तथा विपन्न परिवारलाई लक्षित गरेर यो योजना ल्याइएको हो ।” योजना कार्यान्वयन गर्न आगामी फागुन ५ गतेभित्रै बीमा कार्यक्रमको नागरिकसम्म पुयाउने गाउँपालिकाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस