गोरखामा भारी हिमपात, जनजीवन प्रभावित

रासस

शनिबार, २४ माघ २०७७, २० : ०७
गोरखामा भारी हिमपात, जनजीवन प्रभावित

काठमाडौं । उत्तरी गोरखामा गए रातिदेखि वर्षात्सँगै भारी हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा गए रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो ।

धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूनावस्ती हिउँले ढाकिएको छ । सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामा गाउँलगायत क्षेत्र हिउँले ढाकिएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेका छन् । वृद्धवृदा र बालबालिकालाई बढी समस्या भएको साम्दोका स्थानीयवासी दोर्जे लामाले जानकारी दिनुभयो । 

उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिले पनि हिमपात भइरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिनुभयो । “लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा भारी हिमपात भइरहेको छ”, उहाँले भन्नुभयो, “हिजो अबेरसम्ममा फिलिमपारी रहेको पाङसिङ माथिको डाडाँसम्म हिउँ परेको भन्ने जानकारी आएको छ ।”

हिमपातका कारण उच्च पहाडी भेगका गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल सेताम्य र मनमोहक देखिएका छन् । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ । आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको स्थानीयवासीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस