हिमपातले घुन्सा गाउँ अध्यारोमा

रासस

शनिबार, २४ माघ २०७७, १९ : ०३
हिमपातले घुन्सा गाउँ अध्यारोमा

सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा शुक्रबार बेलुका ६ बजेदेखि निरन्तर हिउँ परेसँगै चिसोले पानी जमेपछि विद्युत््गृह बन्द भएको छ । शुत्रबारदेखि निरन्तर हिमपात भइरहेको घुन्सा गाउँका स्थनीयवासी केल्साङ शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाले भन्नुभयो, “हिजोदेखि निरन्तर हिम पात भइरहेको छ । अहिले करिव दुई फुटसम्म हिउँ जमेको छ ।” सबैतिर सिसाजस्तै हिउँ जमेको शेपाले बताउनुभयो । विद्युत् लागि निर्माण गरिको पोखोरीमा हिउँ थुप्रिएको र चिसोले पानी सिसाजस्तै जमेपछि विद्युत् उत्पादन बन्द भएको शेर्पाले जानकारी दिनुभयो  । पैतीस किलोवाटको घुन्सा विद्युत् बन्द हुँदा गाउँ नै अध्यारोमा बस्न बाध्य भएको शेर्पाले बताउनुभयो ।

पानीका मुहान जमेपछि खाने पानीको समेत समस्या परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोको कारण घर बाहिर निस्कन सकिँदैन । घरभित्र आगो तापेर बस्नुपर्छ ।” जनजीवन निकै प्रभावित भएको शेर्पाले बताउनुभयो । फले निवासी लाक्पा भोटियाका अनुसार हिजोदेखि निरन्तर हिउँ परिरहेको छ ।

घुन्सा गाउँ समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा पर्दछ । यस्तै समुन्द्र सतहदेखि तीन हजार २०० मिटर  आलाङचुङगोला र समुन्द्र सतहदेखि चार हजार २०० मिटर उचाइका याङमा गाउँ पर्दछ । यस वस्तीमा शुक्रबार बेलुकीदेखि बाक्लो हिउँ परिहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताउनुभयो । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ । 

प्रतिक्रिया दिनुहोस