काठमाडौं । हिमाली जिल्ला डोल्पाका विद्यालय बन्द भएको एक महिनापछि खुलेका छन् । हिँउदको अत्यधिक चिसोले पठनपाठन क्रियाकलाप प्रभावित भएपछि गत पुस १५ देखि बन्द भएका विद्यालय एक महिनापछि खुलेका हुन् ।
माघ लागेसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका सम्पूर्ण विद्यालय खुलेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाको निर्णयबाट एक महिना बन्द गरिएको विद्यालय गत बिहीबारदेखि खुलाएर पठनपाठन क्रियाकलाप शुरु गरिएको त्रिपुरा मावि त्रिपुराकोटका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताउनुभयो ।
माघ लागे पनि चिसो अझै नघटेकाले पठनपाठनमा समस्या भएको बताउँदै घाम लागेको मौका छोपी खुला चौरमा लगेर भए पनि पढाउने गरिएको उपाध्यायको भनाइ छ ।
वर्षकै जाडो हुने महिनाका रुपमा रहेका पुस माघमध्ये माघ महिना अझै बाँकी रहेकाले चिसो अत्यधिक रहेको र कक्षाकोठामै बसेर पढ्न समस्या हुने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा सुष्मा परियारले बताउनुभयो । विद्यार्थीलाई चिसो लागेको अवस्थामा कक्षाकोठा बाहिर घाममा लगेर शिक्षकले पढाउने गरेको उहाँको भनाइ छ ।
अघिल्लो वर्ष पुस १५ मा बन्द भएका विद्यालय फागुन पहिलो सातामात्रै खुल्ने भए पनि यस वर्ष लामो लकडाउनका कारण बालबालिकाको पढाइ बिग्रेको भन्दै १५ दिनअघिनै विद्यालय खुलाउने निर्णय गरिएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।
विद्यालय खुले पनि विद्यार्थीको उपस्थिति न्यून रहनुका साथै जिल्ला बाहिर घर भएका शिक्षक विद्यालय पुग्नेक्रम जारी रहेको आदर्श माध्यमिक विद्यालय जुफालका प्रधानाध्यापक पूर्णबहादुर डाँगीले बताउनुभयो ।
जिल्ला दुई वटा स्थानीय तहमा विद्यालय खुले पनि काइके, जगदुल्ला, मुड्केचुला गाउँपालिकाका विद्यालय भने अझै खुलेका छैनन् । पुस १५ देखि बन्द भएका तीनवटै स्थानीय तहका विद्यालय फागुन पहिलो सातामात्रै खुल्ने गाउँपालिकाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० माघ २०७७, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द